काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता मातृकाप्रसाद यादवले पार्टीको पदाधिकारीमा चुनाव लड्ने इच्छा व्यक्त गरेका छन् ।
मंगलबार बिहान खुमलटारमा बसेको पूर्व स्थायी र प्रदेश इन्चार्ज सहभागी केन्द्रीय कार्यालयको विस्तारित बैठकमा नेता यादवले वरिष्ठ उपाध्यक्ष पदमा चुनाव लड्ने प्रस्ताव राखेका हुन् ।
बैठकमा सहभागी एक नेताका अनुसार यादवसहित जनार्दन शर्मा, वर्षमान पुनले पदाधिकारीमा इच्छा रहेको बताएका थिए । जसमा शर्मा र पुनको दाबी महासचिवमा रहँदा यादवले वरिष्ठ उपाध्यक्षमा चाहना व्यक्त गरेका हुन् ।
बैठकमा सहभागी नेताहरुले पार्टीको पदाधिकारी चयन, पोलिटब्युरो र स्थायी समितिको चयन जारी केन्द्रीय समिति बैठकबाटै टुंगो लगाउनुपर्ने धारणा राखेका थिए । जुन प्रस्तावमा नेता यादवको पनि जोड थियो । तर, अध्यक्ष प्रचण्डले आफूले नाम प्रस्ताव गर्ने र त्यसमा सहमति नभए मतदानमा भने जान नहुने शर्त राखेका थिए ।




