समाचार

निःशुल्क सार्वजनिक शौचालय : काठमाडौं महानगर र ३३ वटा संस्थाबीच सम्झौता

काठमाडौं। आफूसँग भएका शौचालयलाई सार्वजनिक उपयोगमा ल्याउन इच्छुक ३३ वटा संघ संस्थाले काठमाडौं महानगरपालिकासँग सम्झौता गरेका छन्। बैङ्क, रेष्टुरेन्ट, स्कुल, प्रकाशनगृह, बिजनेस कम्प्लेक्ससहित ३२ वटा संघसंस्थाका प्रतिनिधिहरूसँग सोमबार सम्झौता भएको हो।

महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)‚ उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलको रोहबरमा भएको सम्झौतामा महानगरका तर्फबाट निर्देशक नूरनिधि न्यौपानेले हस्ताक्षर गरेका हुन्। संघ संस्थाका तर्फबाट प्रतिनिधिहरूले हस्ताक्षर गरेका थिए। नबिल बैङ्कसँग यसअघि नै सम्झौता भइसकेको छ।

सम्झौता आउँदो ५ वर्षका लागि हो। यस अवधिमा संघसंस्थाले आफूसँग भएका शौचालयलाई सार्वजनिक प्रयोगका लागि उपलब्ध गराउनेछन्। यसरी उपलब्ध गराइएका शौचालयको मर्मतसम्भार गर्ने, सरसफाइ गर्न आवश्यक सामग्री तथा पानी, सुगन्धका सामान व्यवस्था गर्ने जिम्मा उनीहरूकै हुनेछ। यसबापत उनीहरूले सेवाग्राहीलाई आफ्नो सेवा लिन करकाप वा प्रोत्साहन गर्ने छैनन्।

यसरी सञ्चालन भएका शौचालयको अनुगमन तथा मूल्याङ्कन गर्न दुवै पक्षबाट १/१ जना प्रतिनिधि तोकिनेछ। उनीहरूले हरेक ४ महिनामा प्रतिवेदन दिनेछन्।
महानगर क्षेत्रभित्रका होटल, रेष्टुरेन्ट, बैङ्क, व्यापारिक भवन, कम्पनी, फर्म, गैर सरकारी संघ संस्थाका शौचालयलाई सार्वजनिक बनाउन इच्छुकलाई महानगरको सार्वजनिक-निजी साझेदारी एकाइमा सम्पर्क राख्न सार्वजनिक आह्वान गरिएको थियो।

प्रकाशित सूचनाका आधारमा ७ दिनमा ३८ वटा संघसंस्था सम्पर्कमा आएका थिए। तीमध्ये केहीले सार्वजनिक शौचालयको लोगो निर्माण गरिदिने बताएका छन् भने सम्पर्क गरेकामध्ये सम्झौताका वेला केहीसँग सम्पर्क हुन सकेको थिएन।

‘यो स्वःस्फूर्त कार्यक्रम हो। कसैलाई कर गरिएको छैन‚’ सम्झौतापछि संक्षिप्त प्रतिक्रिया दिँदै महानगरका प्रमुख शाहले मेयर साहले भने, ‘व्यापार गर्नेले सेवा पनि गर्छु भनेर आउनुभयो। यसको म प्रशंशा गर्न चाहन्छु। यसमा कसैलाई दबाब छैन। अब दबाबले होइन, मिलेर काम गर्नुपर्छ।’

त्यस क्रममा सम्झौता गर्नेहरूका तर्फबाट कामना सेवा विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले, महानगरसँगको सहकार्यमा वृक्षारोपण, हरियाली प्रवर्द्धन, सम्पदाको पुनरुत्थानजस्ता क्षेत्रमा सहकार्य गर्न सकिने भन्दै अवसर माग गरेका थिए।

सर्वसाधारण प्रयोगकर्तालाई सार्वजनिक शौचालय चिन्न सजिलो होस् र सबै सार्वजनिक शौचालयको पहिचान एउटै होस् भनेर संकेत चिह्न तयार पारिएको हो। गोलो रेखाभित्र नीलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो अक्षरले ‘सार्वजनिक शौचालय’ लेखिएको छ। बीच भागमा सेतो रङ्गमै महिला र पुरुषको चिह्न रहेको छ। संकेत चिह्नको पुछारमा अंग्रेजी भाषामा ‘पब्लिक ट्वाइलेट’ लेखिएको छ।

सम्झौता भएका संघ संस्थाः
१ टाइम्स स्क्वायर लाउन्ज एण्ड बार, बालुवाटार
२ पशुपति भ्यू होटल एण्ड रेष्टुरेन्ट, बालकुमारी टोल
३ डेन्टल भिला वडा नं. १४, बल्खु
४ देवयानी इन्टरनेशनल नेपाल प्रालिअन्तर्गत
क पिजा हट, वडा नं. १ दरबारमार्ग
ख केएफसी, वडा नं. १ दरबारमार्ग
ग केएफसी, वडा नं.६ बौद्ध
५ डाक गल्वी कोरियन हाउस, ल्याकसु गल्ली, बसन्तपुर
६ होटल रत्नज्योति, पेरिसडाँडा
७ नेक्सस ग्लोबल भिसा एण्ड इमिग्रेसन प्रालि, शंखमूल
८ खानेकुरा प्रालि, गौशाला
९ सांग्रिला डेभलपमेन्ट बैङ्क, बालुवाटार
१० बेबिलोन नेशनल स्कुल, शान्तिनगर
११ ओटिसी किचेन रेष्टुरेन्ट, बालुवाटार
१२ नेपालय पब्लिकेसन, डिल्लीबजार
१३ बसुन्धरा एण्ड गोङ्गबु एरिया रेष्टुरेन्ट, बसुन्धरा
१४ गोमा लक्ष्मी इन्टरनेशनल, ठमेल
१५ घराना लञ्च एण्ड बार, बानेश्वर
१६ कामना सेवा विकास बैङ्क, कुलेश्वर, बौद्ध, ठमेल, ज्ञानेश्वर, कलंकी, भीमसेनगोला, नयाँ बानेश्वर, न्युरोड
१७ सिटी एक्सप्रेस मनी ट्रान्सफर, कमलादी
१८ नेम इन्स्टिच्युट फर मेडिकल एजुकेसन प्रालि, पुतलीसडक
१९ आरडीएक्स बार प्रालि‚ ठमेल
२० नेपालगञ्ज विरयानी, डिल्लीबजार पिपलबोट
२१ कार्निभल रेष्ट्रो एण्ड मिटिङ, बिजुलीबजार
२२ बार्दली रेष्ट्रो एण्ड मिटिङ, शंखमूल
२२ नेशनल बिजनेस ट्रेड सेन्टर, कलंकी
२३ सांग्रिला डेपलपमेन्ट बैङ्क, बालुवाटार
२४ बिन्का लङ्, छाउनी
२५ प्रोग्रेसियो विस्ट्रो पिबीज रेष्टुरेन्ट, बौद्ध
२६ मिलाल्याण्ड डिभलपमेन्ट प्रालि, कलंकी
२७ क्रिम्पजी एडभेन्चर हब, बौद्ध
२८ बर्गर हब एण्ड केसिए चिकेन, बिजुलीबजार
२९ अनुपम फुडल्याण्ड, बत्तिसपुतली
३० रिट्रिप क्याफे, बौद्ध
३१ चिकेन स्टेशन
३२ स्तुपा हब, बौद्ध

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *