काठमाडौं । संसदीको अन्तर्राष्ट्रिय समितिले एसपीपीका बारेमा अमेरिकालाई पत्राचार वा सहमतिको कागजात सात दिनभित्र उपलव्ध गराउन सरकारलाई निर्देशन दिएको छ । बैठकले एसपीपीका सम्बन्धमा नेपालको रक्षा र परराष्ट्र मन्त्रालय तथा नेपाली सेनाका तर्फबाट अमेरिकासँग गरेका पत्रचार वा सहमति सात दिनभित्र समिति उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एसपीपी खारेज हुने बताएका छन् । चितवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले एमसीसीजस्तो १२ बुँदे व्याख्यात्मक घोषणा गरेर अघि नबढ्ने प्रष्ट पारे । दाहालले एमसीसी र एसपीपी दुवै परियोजना एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको समयमा आएको आरोपसमेत लगाए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसपीपीका बिषयमा २०७२ सालमा नै रक्षामन्त्रीको हैसियतले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पत्र लेखेको दाबी गरेका छन् । एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको प्रशिक्षण कार्यक्रम समापन गर्दै उनले आफू प्रधानमन्त्री भएको १५ दिनपछि तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी राजदूतावासलाई पत्र लेखेको र आफूलाई जानकारी नदिइएको दाबी समेत गरे ।
प्रधानसेनापति प्रभुराम शर्माले ‘स्टेट पार्टनरसीप प्रोग्राम’ (एसपिपी) मा नेपाल आबद्ध हुन नसक्ने स्पष्ट पारेका छन् । उनले सुरुमा नेपाली सेनाले गोरखा भूकम्पका बेला विपद्मा मानवीय र गैरसैनिक सहयोगका लागि सरकारको स्वीकृतिमा पत्राचार गरेको र सहयोग पनि लिएको बताए । तर पछि सन् २०१९ पछि एसपिपी ‘इण्डो प्यासिफिक रणनीति’को अङ्ग हुने भनिएपछि यसमाथि पुनर्विचार गर्न नेपाल सरकारलाई पत्राचार गरेको बताएका छन् ।
गृहमन्त्री बालकृष्ण खाँण र कानूनमन्त्री गोविन्द शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । अध्यक्ष ओली भेट्न उनीहरु ओली निवास बालकोट पुगेका छन् । एसपीपी सम्झौताको विषयमा एमाले र सरकारवीच आरोप प्रत्यारोप भइरहेका बेला उनीहरु ओलीलाई भेट्न पुगेका हुन् ।
मंकिपक्स भाइरस संक्रमित भएको आशंका उपचार शुरु गरिएका एक युवामा कुष्टरोग देखिएको छ । कुष्ठरोगको पुष्टि भएसँगै मंकिपक्स भाइरस नरहेको पुष्टि भएको हो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कले दुबईबाट नेपाल भित्रिएका एक युवकलाई ‘मंकीपक्स’ भाइरसको आशंकामा सरुवा रोग अस्पताल टेकुमा पठाएको थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आफू निर्वाचित भएको क्षेत्रका जनताको हितमा इमानदार भई कामकाज गर्न जनप्रतिनिधिलाई निर्देशन दिएका छन् । कांँग्रेस कञ्चनपुर जिल्ला कार्यसमितिद्वारा आयोजित कार्यक्रममा उनले सदैव जनताका पक्षमा समर्पित भई कामकाज गर्न आग्रह गरेका छन् । ।
विकिलिक्स वेबसाइटका संस्थापक जुलियन असान्ज अमेरिका सुपुर्दगी हुने भएका छन् । बेलायतको जेलमा रहेका उनलाई अमेरिका सुपुर्दगी गर्न बेलायती गृहमन्त्रीले स्वीकृति दिएकी हुन् । अमेरिकामा उनको मानव अधिकार सुरक्षित हुने देखिएको र उनलाई त्यहाँ उचित व्यवहार गरिने समेत वेलायती गृह मन्त्रालयले जनाएको छ ।




