समाचार

दुर्घटनास्थल पुगेका स्थानीय भन्छन्- ‘जहाजमा आगो लागेको छैन, शवहरू संकलन गर्दैछौँ’

पोखरा । पाेखराबाट जाेमसाेमका लागि उडेकाे तारा एयरको दुर्घटनाग्रस्त जहाज भएको स्थानमा पुगेका स्थानीयले अहिले शव संकलन गरिरहेका छन् । जहाजमा आगो नलागेको उनीहरुले बताएका छन् ।

स्थानीय इन्द्रसिंह शेरचनले केही शव भिर र खोंचमा फसेको र केहीलाई संकलन गरिसकेको बताए । ‘शवहरु गन्दै छौँ। अप्ठेरो छ ठाउँ,’ उनले भने, ‘सुरुमा भर्खर आएको हुनाले केही शव अंगभंग देखेर नचिनिने अवस्थाजस्तो लागेको थियो । तर, सबै शवहरु चिनिने अवस्थामा रहेछन् । आगो लागेको छैन ।’

त्यहाँ सुरक्षाकर्मी र स्थानीयवासीको टोली पनि भर्खरै जाँदै छ ।

पोखरादेखि जोमसोम जाने क्रममा आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका वडा नं २ स्थित पटके लेक सानोसोरा भन्ने ठाउँमा क्षतविक्षत अवस्थामा आज बिहान भेटिएको हाे । यार्सागुम्बा खोज्न गएकाहरूले जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला पारेपछि खबर गरेका थिए । साे जहाजमा चालक दलका तीन जना र १९ जना यात्रु रहेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *