दार्चुला । स्थानीय तह निर्वाचनमा आफू र आफ्नो पार्टी नेपाली कांग्रेसले अपेक्षित परिणाम ल्याउन नसकेको भन्दै दार्चुलाका जिल्ला सचिव पुलेन्द्र कार्कीले पदबाट राजीनामा दिएका छन् ।
२०७४ सालको स्थानीय तह चुनावमा कांग्रेसका तर्फबाट दुँहु गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका कार्की यसपालि गठबन्धनको साझा उम्मेदवारका रुपमा पुनः चुनावी मैदानमा ओर्लिएका थिए । उनी नेकपा (एमाले) का नरेन्द्र बडालसँग पराजित भएका हुन् ।
कार्कीले आफ्नो पालिका र समग्र जिल्लामा अपेक्षित परिणाम प्राप्त गर्न नसकेको, सचिवका हैसियतमा खेल्नुपर्ने भूमिका र निर्वाह गर्नुपर्ने दायित्व पूरा गर्न नसकेको अनुभूति भएकाले राजीनामा दिएको बताएका छन् ।
यस पटक दार्चुलामा सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रबीच चुनावी गठबन्धन बनेको थियो । आफ्नो भागमा परेका पाँच पालिकाको नेतृत्व कांग्रेसले पाएन । माओवादीले भने चार पालिका प्रमुखमा जित निकालेको छ । एमालेले अघिल्लो निर्वाचनमा कांग्रेसले जितेका पाँच पालिकामा बाजी मारेको छ ।




