सप्तरी । सप्तरीको खडक नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र) ले नगर प्रमुखमा पहिलो जित हासिल गरेको छ । नेकपा (एकीकृत समाजवादी) सँग गठबन्धन गरेर माओवादी केन्द्र नगर प्रमुखमा विजयी भएको हो । प्रमुखमा जयप्रकाश चौधरी ५,८८२ मत ल्याई निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी निवर्तमान नगर प्रमुख जनता समाजवादी पार्टीका हेमायु हकले पाँच हजार ६७ मत ल्याए ।
यसअघि जिल्लाको कुनै पनि स्थानीय तहको प्रमुख र उपप्रमुख पदमा माओवादी केन्द्रले जित्न सकेको थिएन । माओवादी केन्द्रले नगरपालिकाको एउटा मात्र वडा नम्बर ६ मा जित हासिल गरेको छ । यस्तै उपप्रमुखमा जसपाकी रीताकुमारी चौधरी ६,२३१ मत ल्याएर निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांंग्रेसकी यसमिन सुल्तान खातुनले ३,२१० मत ल्याइन् ।
पराजित खातुन पनि निवर्तमान उपप्रमुख हुन् । नेकपा (एकीकृत समाजवादी) का शत्रुघ्नप्रसाद साह २,९४३ मत ल्याए ।
कूल ११ वडा रहेको खडक नगरपालिकामा जसपाले वडा नं २, ६, ९ र ११, कांग्रेसले वडा नं ३, ८ र १०, एकीकृत समाजवादीले वडा नं ४ र ५ तथा लोसपा र माओवादीले क्रमशः वडा नं १ र ६ मा जित हासिल गरेको छ ।
कञ्चनरुपमा कांग्रेस
कञ्चनरुप नगरपालिकाको नगर प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । नगर प्रमुखमा कांग्रेसका ललनप्रसाद गुप्ता र उपप्रमुखमा मुनाकुमारी पोखरेल विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गुप्ताले ७,८८९ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका भोलाकुमार पासवानले ५,७०४ मत ल्याए ।
नेकपा (एमाले) का कलिम मियाँले ५,२०५ मत प्राप्त गरे यसैगरी उपप्रमुखमा निर्वाचित पोखरेलले ७,०७४ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी कल्पना चौधरीले ५,५४७ मत प्राप्त गरेकी छन् । कूल १२ वडा रहेको कञ्चनरुपमा कांग्रेसले वडा नं २, ४, ५, ७ र ८, एमालेले ३, ६, ११ र १२ तथा जसपाले १, ९ र १० मा वडाध्यक्षमा जित हासिल गरेको छ ।




