लहान । सिराहा र कर्जन्हा नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । सिराहा नगरको उपप्रमुखमा पनि एमालेले नै जित हासिल गरेको छ ।
सिराहाको नगरप्रमुखमा डा नवीन यादव र उपप्रमुखमा बबिताकुमारी साह विजयी भएका छन् । डा यादवले ११ हजार १४३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उपेन्द्रकुमार यादवले आठ हजार ७३२ मत ल्याए । यस्तै उपप्रमुखमा साहले १० हजार १२६ मत ल्याएर निर्वाचित भए भने उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका सरिता यादवले आठ हजार ५७७ मत प्राप्त गरे ।
त्यस्तै कर्जन्हा नगर प्रमुखमा एमालेकै भोलाप्रसाद पोखरेल तीन हजार ८३९ मतका साथ निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका केशवप्रसाद साहले तीन हजार २२३ र नेकपा माओवादीका गङ्गा पासवानले दुई हजार ४८२ मत प्राप्त गरेका छन् ।
यस्तै उपप्रमुखमा जनता समाजवादी पार्टीका लक्ष्मीकुमारी श्रेष्ठ तीन हजार ४८७ मत ल्याएर विजयी भएकी छन् । भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका निर्मला कुमारीदेवी पासवानले तीन हजार ९५ मत तथा माओवादीका ज्ञानकुमारी श्रेष्ठले दुई हजार ४५६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कूल ११ वडा रहेको उक्त नगरको पाँच वडामा एमाले, तीनमा जसपा, माओवादी र नेकपा एकीकृत समाजवादीले एक÷एक तथा एक वडामा स्वतन्त्र उम्मेदवार अध्यक्षमा विजयी भएका छन् ।




