काठमाडौं । सोलुदुधकुण्ड नगरपालिकामा नेपाली कांग्रेसका नाम्गेलजाङ्बु शेर्पा र गान्धिमाया तामाङ मेयर तथा उपमेयर पदमा निर्वाचित भएका छन् ।
मेयरमा निर्वाचित शेर्पा सोलुखुम्बु कांग्रेसका सभापति समेत हुन् । शेर्पाले नेकपा एमालेका उम्मेदवार आङकाजी शेर्पालाई ६ सय ७८ मतान्तरले पराजित गर्दै दोश्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएका हुन् ।
उनले ४ हजार ९ सय ६८ मत ल्याउँदा एमाले उम्मेदवार आङकाजीले ४ हजार २ सय ९० मत ल्याए । यहाँ माओबादी केन्द्रका उम्मेदवार निमातेण्डुप शेर्पाले १ हजार १ सय ८७ मत ल्याएका छन् ।
उपमेयरमा तामाङले ४ हजार ३ सय ८५ मत ल्याइन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार मोहनकुमारी कार्कीले ४ हजार २ सय ७३ मत पाएकी छिन् ।
११ वटा वडा रहेको नगरपालिकामा ६ वटा वडामा कांग्रेस, ४ वडामा नेकपा एमाले र १ वडामा माओवादी केन्द्रका उम्मेदवारले वडाध्यक्ष जितेका छन् ।




