काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केन्द्रदेखि प्रदेशसम्मका सरकार ढलिसक्दा पनि अझै होश नखुलेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन् ।
नेकपा स्थापना दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गदै अध्यक्ष नेपालले आफूहरुले पनि ‘तिक्डम’ जानेको बताए । ‘आफूले मात्र तिक्डम जानेको छ भन्ने ठानेका होलान् । अरुले पनि जानेका छन् नि’, नेपालले भने, ‘आफूले मात्र तिक्डम जानेको र पछार्न जानेको भन्नेहरु पछारिए ।’
अध्यक्ष नेपालले केन्द्र, प्रदेश र राष्ट्रिय सभामा पछि पर्दा पनि ओलीको होश नखुलेको टिप्पणी गरे । ‘केन्द्रमा पछारिए, प्रदेशमा पछारिए, राष्ट्रियसभामा पछारिए, पछारिंदाखेरि पनि अहिलेसम्म पनि होस खुलेको छैन’, नेपालले भने ।
‘एमालेले जितेको ठाउँमा हाम्रो हक लाग्छ, तर यहाँ गडबड गर्न खोजिएको छ’
अध्यक्ष नेपालले महानगर र उपमहानगरपालिकाको भागबण्डाले गठबन्धनमा राम्रो सन्देश दिए पनि जिल्ला तहको रिपोर्ट आशावादी नरहेको बताएका छन् । अध्यक्ष नेपालले गठबन्धनमा रहेका अन्य दलले आफूहरुको अपमान गर्न खोजेको बताएका छन् ।
अध्यक्ष नेपालले भने, ‘तल जिल्लाहरुको रिपोर्ट सुन्दा आशावादी र उत्साही हुने अवस्था छैन । देशैभर हाम्रो पार्टीको सञ्जाल छ, न्युनतम कम्तिमा पनि एउटा पालिका हामीले पाउनु पर्छ भन्ने हो । एमालेले जितेका ठाउँमा हाम्रो पहिलो हक रहन्छ । तर यहाँ गडबड गर्न खोजिएको छ ।’
अध्यक्ष नेपालले कांग्रेसमा एकथरी शक्ति गठबन्धन नहोस् भनेर लागेको बताए । उनले दुई दिन उम्मेदवारी मनोनयनको व्यवस्थाप्रति पनि शंका जनाउँदै तिकडम गर्न खोजिएको बताए । ११ गते मनोनयन हेरेर १२ गते विद्रोही खडा गर्ने भनेर तिकडम गर्न खोजेको हुनसक्ने भन्दै केपी ओलीका तिकडमलाई आफूले पछार्ने नेपालले बताए ।




