काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय नेतृत्व स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगरका उम्मेदवार टुंग्याउन छलफलमा जुटेको छ । सत्ता गठबन्धनबीच तालमेलको सहमतिअनुसार आफ्नो भागमा परेका उम्मेदवार छान्न छलफल शुरु गरिएको हो ।
अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारी छलफलमा जुटेका छन् । बिहान १० बजे बैठक शुरु भएको एक नेताले जानकारी दिए । यसअघि शुक्रबार राति पनि कांग्रेसका शीर्ष नेताहरूबीच यस विषयमा छलफल भएको थियो । तर आ-आफ्नै अडानका कारण सहमति हुन नसकेपछि पुनः आज बैठक राखिएको हो । अहिले बैठक चलिरहेको छ ।
छलफलमा सहभागी एक नेताका अनुसार शीर्ष नेतैपिच्छे आ-आफ्ना निकट मान्छेको नाम लिने होडबाजीका कारण उम्मेदवारबारे शुक्रबार सहमति हुन सकेन । ती नेताले दिएको जानकारीअनुसार वरिष्ठ नेता रामचन्द्र पौडेलले पोखरा महानगरको उपमेयर पदमा कोपिला रानाभाट र प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले महानगर कार्यसमिति सभापतिको नाममा जोड गरेका छन् ।
विराटनगर महानगरको मेयरमा शेखर कोइरालाले नागेश कोइराला, यस्तै कृष्णप्रसाद सिटौलाले भीम पराजुलीको नाममा अडान लिए । ‘अमृत अर्याल र डिला संग्रौलाको नाममा पनि छलफल भयो’, उनले भने, ‘भरतपुरको उपमेयरमा दीर्घमान श्रेष्ठ र महानगर सभापति चित्रसेन अधिकारीको नाम आयो ।’ ललितपुर र वीरगञ्जको विषय भने बैठकमा प्रवेश नै नभएको तीन नेताले बताएका छन् । ‘काठमाडौंमा सिर्जना सिंह झण्डै झण्डै निश्चितझै भएर छलफल भएन’, उनले भने ।




