
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रान्तिपछि प्रतिक्रान्तिकारीहरू पुरानै सत्ता उल्ट्याउन कोसिस गर्ने दाबी गरेको छन्।
अमेरिकी सहयोग परियोजना एमसिसी विवादले पाँच दलीय सत्ता गठबन्धनमा खटपट भएको बेलामा प्रचण्डले यस्तो बताएका हुन्।
एमसिसी विवादको बेलामा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग दूरी घटाइरहेको बेलामा प्रचण्डले फेसबुकमा लेखेका छन्, ‘विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिकारीहरू फेरि पुरानै सत्ता उल्ट्याउन भरमग्दुर कोसिस गर्छन्।’
अहिले नेपालमा क्रान्ति र प्रतिक्रान्तिकारीबीच संघर्ष चलिरहेको उनको भनाइ छ। ‘अहिले नेपालमा पनि क्रान्ति र प्रतिक्रान्तिकारीबीच संघर्ष चलिरहेको छ। उनीहरूले कैयौँ षड्यन्त्र रचिरहेर भ्रम छरिरहेका छन्। तर, हामी ती सबै प्रपञ्चको जालो चिरेर विजयी हुनेछौँ’ प्रचण्डले लेखेका छन्।
एमसिसी विवाद समाधान गर्न गृहमन्त्री बालकृष्ण खाँणले आजै मात्रै बालकोट पुगेर ओलीसँग भेटवार्ता गरेका छन्। बालकोट जानुअघि उनले प्रचण्डसँग भेटवार्ता गरेका थिए।
प्रधानमन्त्री देउवालाई भेट्न हिजो अध्यक्ष ओली प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका थिए।