शिक्षा / स्वास्थ्य

कांग्रेस जिल्ला सभापति बन्न प्रेमध्वजले दिए त्रिविको उपप्राध्यापकबाट राजीनामा

काठमाडौं।त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा.प्रेमध्वज लामा राजीनामा दिएका छन् । उनले पदबाट राजीनामा दिएको शुक्रबार त्रिविको नेपाली इतिहास संस्कृति तथा पुरातत्व विभागले पुष्टि गरेको हो ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सिन्धुपाल्चोकबाट प्रतिनिधि निर्वाचित भएलगत्तै उनले उपप्राध्यापकबाट राजीनामा दिएका थिए । तर, उनको राजीनामा स्वीकृत भएको थिएन । नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागमा कार्यरत लामाले राजीनामा बुझाएका मुख्य कार्याल्य सहायक ईन्द्रकुमारी महर्जनले बताइन् ।

हालै मात्र उनले विद्यावारिधि उपाधि हासिल गरेका हुन् । उनले आगामी २७ पुसमा हुने कांग्रेस सिन्धुपाल्चोकको सभापतिका उम्मेदवारी दिने भएका छन् । लामा पार्टी सभापति शेरबहादुर देउवा निकट नेता हुन् । विद्यार्थी राजनीतिबाट शिक्षण पेसामा प्रवेश गरेका लामा फेरि पार्टी राजनीतिमा लागेका छन् ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) को दुई पटक जिल्ला अध्यक्ष, धनराज गुरुङ र गोविन्द भट्टराईको पालामा दुई पटक केन्द्रीय सदस्य, दुई पटक पाटन संयुक्त क्याम्पसका स्ववियु सभापतिको उम्मेदवार रहेका लामा २०४३ सालदेखि विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा होमिएका हुन् ।

समाजशास्त्र र संस्कृतिमा स्नातोत्तर लामाले हालै हेल्मो समुदायको संस्कृति र परिवर्तित आयाम विषयमा पिएचडी गरेका छन् । ‘म अब सक्रिय राजनीतिमा जान लागेको हुँ,’ उनले भने, ‘जिल्ला सभापति उम्मेदवार हुन्छु।’

उनले ०५८ सालदेखि त्रिवि केन्द्रीय विभागबाटै अध्यापन गराउन थालेका थिए। ०६४ मा करार हुँदै उनी ०७४ मा स्थायी भएका थिए।

‘म स्थायी भएको चार वर्ष भयो। परिवारका सदस्यहरूसँग सल्लाह गरेँ, अब पार्टीकै राजनीतिमा सक्रिय हुन्छु भनेर राजीनामा दिएको हुँ,’ लामाले भने।

लामा सभापति शेरबहादुर देउवा, केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतनिकट हुन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *