राजनीति

माओवादी केन्द्रको बन्दसत्रमा डेढ घण्टादेखि प्रचण्ड बोलेको बोल्यै

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्र चलिरहेको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा जारी बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् ।

एक घण्टा ३० मिनेटभन्दा बढी समयदेखि प्रचण्डले ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो, ऐतिहासिक आठौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवेदन’ शीर्षकको राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् । उनले वैचारिक तथा राजनीतिक दस्तावेजको चार भाग प्रस्तुत गरिरहेका छन् । उक्त प्रतिवेदन हालसम्म प्रतिनिधि तथा पर्यवेक्षकलाई भने वितरण गरिएको छैन ।

अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिसकेपछि विधान मस्यौदा प्रस्तुत गर्ने कार्यक्रम छ । स्थायी समिति सदस्य देव गुरुङले विधान मस्यौदा प्रस्तुत गर्नेछन् । बन्दसत्र सञ्चालनका लागि पार्टी स्थायी समिति सदस्य कृष्णबहादुर महराको अध्यक्षतामा गिरिराजमणि पोखरेल, गणेश साह, पर्शुराम तामाङ, पूर्णाकुमारी सुवेदी, पर्शुराम रम्तेल र रुपा महर्जन सदस्य रहेकाे सात सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ ।

बन्दसत्रमा कूल एक हजार ६ सय बढी प्रतिनिधि तथा पर्यवेक्षक सहभागी छन् । आइतबारबाट सुरु भएको सो महाधिवेशन १५ पुससम्म चल्नेछ । सो महाधिवेशनले १५ पदाधिकारीसहित २९९ जना केन्द्रीय सदस्य चयन गर्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *