काठमाडौं । खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि दुरव्यवहार गर्ने दोषीलाई कानुनी कारबाही गर्न सरकारले अघि बढाएको प्रक्रियालाई नेपाली कांग्रेस स्वागत गरेको छ । राजनीतिमा, प्रशासनमा र समग्र समाजमा रहेका बेथितिविरुद्ध प्रश्न उठाउनु र स्वच्छ समाजको खोजी गर्नु हामी सबैको कर्तव्य भएको नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘कानुन हातमा लिने, बलजफ्ती र हुल हुज्जत गर्ने कार्य सभ्य समाजको परिचायक हुन सक्दैन । यस्तो घटना आपत्तिजनक र निन्दनीयसँगै कडा कार्वाहीको बिषय बन्दछ ।’
‘जनकपुरको घटनाबाट नेपाली इन्जिनियरहरु, कर्मचारीहरु र सभ्य समाजमा विश्वास गर्ने सबैलाई मर्माहत बनाएको छ । सहकर्मी उपर गम्भीर दुरव्यवहार हुँदा इन्जिनियरहरु आक्रोशित र आन्दोलित हुनु स्वभाविक छ । सुरु कानुनी कारबाहीसँगै राज्यको सक्रियताले यसलाई सम्बोधन गर्ने विश्वास हामीले लिएका छौं । शान्तिपूर्ण राजनीतिमा सहभागी हुने उद्घोष गरेका हरेक दल र संस्थाले आफ्ना समर्थक र सदस्यलाई तदनुकुलको संस्कार र व्यवहारमा रुपान्तरण गर्नु सम्बन्धित दल नेतृत्वको कर्तव्य हुने स्मरण पनि हामी गराउँदछौं, प्रवक्ता शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘हुलहुज्जतको बाटो समुन्नत समाजमा पुग्न नसकिने, हरेक दल, नेतृत्व, सदस्य, समर्थक र हरेक नागरिकले यसलाई गहिरो आत्मसात गर्नुपर्ने आवश्यकता औंल्याउँदै नेपाली कांग्रेस थप सजगता र कडाइका लागि सरकारलाई अपील गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।




