काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले महाधिवेशनको प्रक्रिया सुरु भइसके पनि अझै केही जिल्लामा क्रियाशील सदस्यताको टुंगो लगाउन बाँकी रहनु बिडम्बना भएको टिप्पणी गरेका छन्।
सोमवार कांग्रेस काठमाडौं महानगरपालिकाको नेतृत्व चयनपछि पदाधिकारीहरुलाई बधाई दिँदै उनले महाधिवेशनको प्रक्रिया सुरू भइसके पनि अझै केही जिल्लामा क्रियाशील सदस्यताको टुंगो लगाउन बाँकी रहनु बिडम्बना भएको बताए।
उनले अबको महाधिवेनबाट युवा पुस्ताले पार्टीको नेतृत्वलाई सम्हाल्ने आश राखे पनि बताए। नेता सिंहले पार्टीका केही व्यक्तिहरू पार्टीभित्र भएका ‘अन डेमोक्रेटिक’ कुराहरुको विरोधमा बोल्नु नहुने भनेर स्यालको हुलियाजस्तो कराइरहेको बताए।
नेता सिंहले केही नेताहरुले पदमा पुगेकाहरुको गुनगान गाउने र चाकडी गर्ने प्रवृत्ति ठिक नभएको गुनासो गरे। उनले १३औँ महाधिवेशनपछि पार्टीमा भएका कमीकमजोरीहरुलाई १४औँ महाधिवेशनपछि सुधार गर्ने प्रतिवद्धता जनाए।




