काठमाडौं । मन्त्रालय सम्हाल्न मन्त्री आउनुभन्दा अघि नै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले सरुवाको ताण्डप मच्चाएका छन् । सडक विभाग अन्तर्गतका डिभिजन र आयोजना प्रमुखको सरुवा राम्रै आम्दानी गरेरं सुरुवा गरेको मन्त्रालय स्रोतले बताएको छ । वरिष्ठ, कार्यक्षमता, कार्यसम्पादन र स्वच्छ छविलाई आधार नमानी नगदलाई आधार मानेर सचिव श्रेष्ठले उपसचिव (डीई) हरुको सरुवा गरेको बुझिएको छ ।
भौतिक मन्त्रीको जिम्मेवारीसमेत लिएका प्रधानमन्त्री शेरबहादुर देउवालाई गुमराहमा पारी सचिव श्रेष्ठले इन्जिनियरहरुलाई महत्वपूर्ण आयोजनाको कामु (डीई) मा सरुवा गरिएको छ । बरिष्ठ डीईहरुलाई करिडोरमा राखी कनिष्टहरुलाई लेनदेनका आधारमा आधारमा महत्वपूर्ण आयोजनामा सरुवा गरिएको हो ।
जुनियर इञ्जिनियरहरु आशुतोष कर्ण, कल्पना अधिकारी, अर्जुनविलास पन्तलाई कामु डीई बनाएर पठाइएको छ । कर्णलाई दार्चुला–टिंकर सडक आयोजना, कल्पना अधिकारीलाई कालीगण्डकी करिडोर र पन्तलाई चामे–बेसीसहर सडक आयोजनाको प्रमुखमा सरुवा गरिएको छ ।
बरिष्ठ डीईहरु कृष्णराज अधिकारी, केदार नेपाल, अंगलाल रोकाय, गुरु अधिकारी, ज्ञानेन्द्र झा, विनोद महुवार र निरज शर्मालाई जिम्मेवारीबिहीन बनाई करिडोरमा राखिएको छ ।
यसअघि सचिव श्रेष्ठले अख्तियारले घुस लिँदालिँदै पक्राउ गरेर विशेष अदालतमा मुद्दा दायर नगरी गुपचुप उन्मुक्ति दिइएका डीई ललितजंग खनाललाई अछामको साँफेबगरबाट कास्की डिभिजनको प्रमुख बनाइसकेका छन् । सडक विभागबाट लक्ष्मी केसीलाई दमौली डिभिजनमा सरुवा गरेका थिए । कपिलवस्तुको शिवपुर डिभिजनका रामकुमार देवलाई लहान डिभिजनमा सरुवा गरिएको छ ।
बिहानदेखि साँझसम्म भौतिक मन्त्रालयका सचिव श्रेष्ठको कार्यकक्षमा बस्दैआएका रविन श्रेष्ठले नै इञ्जिनियरहरुबाट दररेट अनुसार लिएर सरुवाको चाँजोपाँजो मिलाएको चर्चा सडकमा छ । बिचौलिया रविन श्रेष्ठको सचिव रविन्द्रनाथको कनेक्सन उनी सडक विभागको महानिर्देशक हुँदादेखिकै हो ।




