समाचार

एसएसबीले तुइन काटेकै कारण धामी महाकालीमा बेपत्ता भएको अध्ययनको निष्कर्ष

काठमाडौं । मानवअधिकारको क्षेत्रमा क्रियाशील जनअधिकार अभियान नेपालले भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले तुइन फुस्काइ दिएकै कारण दार्चुलाका जयसिंह धामी महाकालीमा बेपत्ता भएको प्रतिवेदन सार्वजनिक गरेको छ ।

दार्चुलामा पुगेर स्थलगत अध्ययन गरेको समितिले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर प्रतिवेदन सार्वजनिक गरेको हो ।

संस्थाले अधिवक्ता सन्तोष कोइराला र अधिकारकर्मी ललित विकलाई स्थलगत अध्ययनका लागि पठाएको थियो । पीडितका परिवार, आफन्त, प्रत्यक्षदर्शी, सरोकारवालासँग भेट गरी प्रतिवेदन बनाइएको अधिवक्ता कोइरालाले बताए ।

सरकारलाई दबाब दिने उद्देश्यले आफूहरुले छुट्टै छानबिन समिति गठन गरी घटनास्थल पठाएको संस्थाका अध्यक्ष एकराज भण्डारीले बताए ।प्रतिवेदनमा मान्छे तुइन तर्दै गरेको देख्दादेख्दै एसएसबीका जवानले फुस्काइदिएर अक्षम्य र मानवताविरोधी अपराध गरेको उल्लेख छ ।

समितिले बेपत्ता धामीको अवस्था पत्ता लगाएर तत्काल परिवारको जिम्मा लगाउन र कूटनीतिक पहल गरी दोषीलाई कानूनी दायरामा ल्याउन माग गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *