समाचार

कांग्रेसमा बस्नेतलाई थप जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई सभापति देउवाले थप जिम्मेवारी सुम्पिएका छन् । सभापति देउवाले नेता बस्नेतलाई ‘नेपाली कांग्रेस दैवी प्रकोप तथा विपद् व्यवस्थापन समिति’ को जिम्मेवारी सुम्पिएका हुन् ।

हिजो शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले नेता बस्नेतलाई समितिको संयोजक बनाउने निर्णय गरेको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले समितिको संयोजक बनाउन बस्नेतको नाम प्रस्ताव गरेका थिए । सभापति देउवाको प्रस्तावलाई केन्द्रीय सदस्य बलबहादुर केसीसहितका नेताहरूले तत्कालै ताली बजाएर समर्थन गरेका थिए ।

यो समितिले देशभरि हुने दैवी प्रकोपको सूचना संकलन गर्नेदेखि उद्धारमा नेता कार्यकर्ता परिचाल, राहत वितरणलगायतका काम गर्नेछ । यो समितिलाई बस्नेतले केही दिनभित्रै विस्तारगर्ने बताइएको छ ।

कांग्रेस नेता बस्नेतले सिन्धुपाल्चोक जिल्लामा बाढीपहिरोका साथै समस्यामा परेका जनताको उद्धारमा आफै उपस्थित भएर सहयोग गर्दै आएका छन् । उनले सिन्धुपाल्चोक मात्रै नभइ अन्य जिल्लाहरूमा पनि कोरोना महामारीका बेला स्वास्थ्य सामग्रीहरू सहयोग गर्दै आएका छन् । उनको यो समाजसेवाका कारण देशभरिका कांग्रेसका शुभेच्छुकहरू खुसी छन् ।

कोरोना महामारीका बेला पनि नेता बस्नेतले आफूलाई अग्रपंक्तिमा राखेर जनस्वास्थ्यसम्बन्धी सहयोग र कामहरू गर्दै आएका छन् ।

खेलकुद विभागका प्रमुख समेत रहेका पूर्वमन्त्री बस्नेतले विभागमार्फत देशभरि कोरोना महामारीका बेला बिरामीलाई उपचार गर्न सहज होस् भनेर रक्तदान गराएका थिए । रक्तदान कार्यक्रममा सयौँ युवा र तरुणहरू सहभागी भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *