समाचार

एक घण्टा अक्सिजन आपूर्ति बन्द हुँदा सात बिरामीको निधन

पोखरा । पोखरास्थित गण्डकी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन आपूर्र्ति बन्द हुँदा एक सुत्केरीसहित सात कोरोना सङ्क्रमितको निधन भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको सो अस्पतालमा बिहीबार राति ९ः०० देखि १०ः०० बजेको अवधिमा अक्सिजन आपूर्ति पूर्णरुपमा बन्द हुँदा उच्च गति (हाइफ्लो) अक्सिजनको सहायता र भेन्टिलेटरमा उपचार गराइरहेका बिरामीले ज्यान गुमाएका हुन् ।

बिहीबार रातिदेखि आज बिहानसम्म अस्पतालको मेडिकल आइसोलेशनमा पाँच र डी क्यान्टिन आइसोलेशनमा दुई गरी सात सङ्क्रमितको निधन भएको अस्पतालको मेडिकल आइसोलेशनका फोकल पर्सन डा डेविट श्रेष्ठले जानकारी दिए ।

तनहुँकी सुत्केरी यही जेठ ५ गते कोरोना रिपोर्ट पोजेटिभ आएपछि ९ गते अस्पताल भर्ना भएकी थिइन । उनको अस्पतालमा शल्यक्रियाविधिबाट सुत्केरी गराइएकामा अक्सिजन सहायतामा उपचार भइरहेकामा हिजो निधन भएको बताइएको छ ।  

डा श्रेष्ठले भने, “प्लान्टमा उत्पादन कम भएर हो कि किन हो हिजो दिउँसो ४ः०० बजेदेखि नै अक्सिजन आउने रोकिने भइरहेको थियो, समयमा अक्सिजन नआउँदा हामीले सेन्ट्रल लाइनमा जोड्न सकेनौँ, राति ९ः०० देखि १०ः०० बजेसम्म पूरै बन्द भयो, हाइप्mलो र भेन्टिलेटरमा बसेका बिरामीलाई आधा घण्टा वा एक घण्टा अक्सिजन नहुँदा अवस्था के होला ?”

प्रदेशको ठूलो सरकारी अस्पताल भए पनि पश्चिमाञ्चल क्षेत्रीय अस्पतलाको आफ्नै अक्सिजन प्लान्ट छैन । अस्पतालले पोखरा अक्सिजन ग्यास प्रालिसँग अक्सिजन आपूर्तिको सम्झौता गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *