काठमाडौं । भारतमा शक्तिशाली चक्रपातले फेरि ठूलो समस्या उत्पन्न गराएको छ । पूर्वीमध्य अरब सागरमा बनेको अति शक्तिशाली चक्रवात् अझ विकसित हुने क्रममा रहेकाले भारतमा धेरै क्षति गर्न सक्ने आंकलन गरिएको छ ।
जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले सामुद्रिक आँधीको प्रभाव नेपालमा पनि पर्ने भएकाले सतर्क रहन आग्रह गरेको छ । नेपालमा प्रत्यक्ष असर नपरे पनि देशको पूर्वी भेगमा असर पर्ने भएकाले सतर्क रहन मौसमविद्ले आग्रह गरेका हुन् ।
आइतवार विशेष वुलेटिन जारी गर्दै महाशाखाले सर्वसाधारणलाई सचेत गराएको हो । जसअनुसार चक्रवातका कारण मंगलबारबाट देशका धेरै स्थानमा मौसम सामान्यदेखि पूर्णसम्म बदली हुने सम्भावना छ। बुधबार बेलुकादेखि शुक्रबारसम्म भने कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा र थोरै स्थानमा भारी वर्षासमेत हुने सम्भावना छ।
प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका पनि थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। ‘यो सिजनमा मेघगर्जन र चट्याङ, हावाहुरी र असिनापानीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ,’ महाशाखाले जारी गरेको बुलेटिनमा भनेको छ । यस अवधिमा उच्च हिमाली क्षेत्रमा पर्वतारोहण नगर्न तथा नगराउनसमेत मौसम महाशाखाले अनुरोध गरेको छ।




