काठमाडौं । काठमाडौं उपत्यकामा वैशाख १५ गतेबाट निषेधाज्ञा लागू हुने भएको छ । कोरोना भाइरसको चेन ब्रेक गर्न आन्तरिक उडान र सार्वजनिक यातायात बन्द गर्ने सरकारको तयारी छ । तर, अन्तर्राष्ट्रिय उडान भने यथावत् रहने बुझिएको छ । भारत सरकारको दबाबका कारण नेपालले अन्तर्राष्ट्रिय उडान बन्द नगर्ने स्रोतले बताएको छ ।
काठमाडौं उपत्यकामा आंशिक लकडाउन मात्र हुने भएको छ । कुन–कुन क्षेत्र खुकुलो गर्ने भन्ने विषयमा निर्णय गर्न अहिले काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी सीडीओहरुसहितको बैठक बसिरहेको छ । यसअघि बुधवारदेखि उपत्यकामा लकडाउन हुने भनिए पनि तत्काल पूर्णरुपमा लकडाउन नहुने भएको हो ।
सीडीओहरुको बैठकमा काठमाडौंका केही क्षेत्र खुकुलो राखेर निषेधाज्ञा जारी गर्नेबारेमा छलफल भइरहेको छ । कोरोनाका सक्रिय संक्रमितको संख्या पाँच सय पुगेका जिल्लामा निषेधाज्ञा गर्न सीसीएमसीले निर्णय गरेको थियो । सोही निर्णयका आधारमा निषेधाज्ञा जारी गर्ने तयारी भएको हो ।
बैठकले काठमाडौंबाट हुने आन्तरिक तथा बाह्य हवाइ उडान पनि बन्द गर्नेबारे निर्णय गर्ने बताइएको छ । यस्तै सार्वजनिक यातायात पनि बन्द गर्ने स्थानीय प्रशासनको योजना छ ।
कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले संक्रमण जोखिम बढेका जिल्लामा निषेधाज्ञा गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ। सीसीएमसीको आइतबार बसेको बैठकले बैशाख १५ गतेदेखि निषेधाज्ञा गर्न सिफारिस गरेको थियो।
सीसीएमसीले सरोकारवाला मन्त्रालय र प्रमुख जिल्ला अधिकारीहरुलाई यससम्बन्धी आन्तरिक परिपत्रसमेत गरिसकेको छ। यस्तै, पहाडी क्षेत्रमा २ सय र शहरी क्षेत्रमा ५ सय सक्रिय संक्रमित भएका जिल्लामा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले निषेधाज्ञा गर्न सक्ने गरी सिफारिससमेत सीसीएमसी गरेको छ।
प्रस्तावअनुसार भएमा आगामी बुधबार बिहान ६ बजेदेखि यतायातका साधन बन्द हुने छन् भने आन्तरिक उडानसमेत बन्द हुने सीसीएमसी स्रोतले बताएको छ। निषेधाज्ञा जारी भएको अवस्थामा गर्न पाइने तथा नपाइने विषयमा सम्बन्धित जिल्ला प्रशासनबाट निर्देशिका जारी हुने र त्यहीअनुसार हुने सीसीएमसी स्रोतको भनाइ छ।




