मुख्य समाचार

आमाको सम्पत्ति ठगी गरेको आरोपमा राष्ट्र बैंककी निर्देशक पक्राउ

काठमाडौं । आमाको सम्पत्ति ठगी गरेको आरोपमा नेपाल राष्ट्र बैंककी निर्देशक सुष्मा रिजाल रेग्मी पक्राउ परेकी छन् । आफ्नी ८५ वर्षीया आमालाई ३ करोड रुपैयाँ ठगी गरेको आरोपमा उनलाई प्रकाउ गरिएको हो ।

राष्ट्र बैंकको कर्पोरेट प्लानिङ तथा रिस्क म्यानेजमेन्ट विभागकी निर्देशक रेग्मीलाई महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको हो । परिसरका प्रमुख एसएसपी अशोक सिंहका अनुसार सुष्माकी आमाले आफूलाई ठगेको भन्दै छोरीविरुद्ध उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा पक्राउ गरी दुई दिनदेखि थुनामा राखिएको उनले बताए ।

उजुरी अनुसार रेग्मीले विभिन्न बैंकमा भएको आमाको खाताको पैसासहित ३ करोडभन्दा बढीको सम्पत्ति आमाको हेरचाह गर्ने भन्दै आफ्नो नियन्त्रणमा लिएकी थिइन् । तर, पैसा लिएर आफ्नो हेरचाह नगरेको आमाले आरोप लगाएकी छिन् ।

प्रहरीले उनलाई विगत ८ महिनादेखि आमाको राम्रोसँग हेरचाह गर्न वा आमाको सम्पत्ति फिर्ता गरिदिन अनुरोध गरे पनि उनले नमानेको सिंहले जानकारी दिए । रेग्मीविरुद्ध जेष्ठ नागरिक ऐन २०७३ अनुसार मुद्दा दर्ता भइ अनुसन्धान भइरहेकोसमेत उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *