काठमाडौं । एमाले नेता घनश्याम भुसालले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीमा असीमित सत्ताभोगको अतृप्त तृष्णा देखिएको बताएका छन् ।
ओलीले बिहीबार आफूलाई साधारण सदस्यसमेत नरहने गरी ६ महिनाका लागि कारबाही गरेपछि त्यसको जवाफ दिँदै एमाले स्थायी कमिटी सदस्यसमेत रहेका भुसालले एउटा धेरै राम्रो पार्टीलाई ओलीले गुटमा बदलेको र त्यो गुट राज्य दोहनमा लागेको गिरोहमा परिणत भएको आरोप लगाएका छन् ।
उनले ओलीको जीवन दर्शन ‘म बस्न नपाउने कुर्ची भाँची दिन्छु’ भन्ने रहेको पनि दाबी गरेका छन् । भुसालले सामाजिक सञ्जालमा लेखेका छन्– ‘असीमित सत्ताभोगको अतृप्त तृष्णाले कमरेड ओलीलाई ‘म’ र ‘मेरो’ बाहेक केहि नदेख्ने बनाएको छ । ‘म बस्न नपाउने कुर्ची भाँची दिन्छु’, यो उनी आफैले कबुल गरेको जीवन दर्शन हो । एउटा धेरै राम्रो पार्टीलाई उनले गुटमा बदलेका थिए, अहिले त्यो गुट राज्य दोहनमा लागेको गिरोहमा परिणत भएको छ । उनको व्यक्तिवादी, अवसरवादी, दक्षिणपन्थी तथा विसर्जनवादी ताण्डवलाई पराजित गरेर हामीले लोकतन्त्र र वामपन्थको ऋण तिर्नेछौँ । मेरो पार्टीको अध्यक्ष भएर उनले गरेका बर्बादीका लागि मैले दुनियाँसँग माफी माग्छु ।’




