काठमाडौं । प्रधानमन्त्री केपी ओलीले तत्काल राजीनामा नदिने भएका छन् । केहीबेरअघि सम्पन्न नेकपा ओली समूहको बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो । बैठकले विभिन्न चारवटा निर्णय पनि गरेको छ ।
नेकपा ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार बैठकले सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयन गर्ने निर्णय गरेको छ। ‘अहिलेको हकमा सर्वोच्च अदालतको फैसलालाई सम्मान र कार्यान्वयन गर्ने हामीले निर्णय गरेका छौँ,’ उनले भने ।
नेकपा ओली समूहले समग्र परिस्थितिबारे छलफल गर्न केन्द्रीय कमिटी र संसदीय दलको बैठक बोलाउने निर्णय पनि गरेको छ। ओलीले प्रतिनिधिसभा बैठकअघि राजीनामा नदिने र संसदमै चुनौतीको सामना गर्ने भएका छन् । स्थायी कमिटी बैठकमा ओलीले पदबाट राजीनामा दिने विषयमा त्यति धेरै छलफल नभएको एक नेताले बताए ।
प्रतिनिधिसभाको अधिवेशन निर्धारित समयमै बोलाइने बताउँदै ज्ञवालीले त्यसपछिको दृश्य कस्तो हुन्छ भन्नेबारे सबै पक्षसँग छलफल गर्ने निर्णय समेत बुधवारको बैठकले गरेको छ। स्थायी कमिटी बैठकले देशका विभिन्न ठाउँमा यसअघि निर्धारित कार्यक्रमहरूलाई निरन्तरता दिने निर्णय गरेको छ।




