काठमाडौं । प्रधानमन्त्री केपी ओलीले हठात ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्धको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार जारी गरेको अध्यादेशविरूद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाइ हुने भएको हो ।
अध्यादेश बदर गर्नुपर्ने माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्याल र कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्री केपी ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रपतिको कार्यालयलगायतलाई विपक्षी बनाई रिट निवेदन दायर गरेका थिए ।
नेपालको संविधानले नै संवैधानिक परिषद्मा ६ सदस्यीय संरचनाको व्यवस्था गरेको उल्लेख गर्दै रिट निवेदनमा अध्यादेशले संविधानको मूल्यमान्यतलाई भत्काएको उल्लेख छ । उक्त रिटमाथि सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा संवैधानिक इजालस गठन हुने व्यवस्था छ । अब सरकारविरुद्ध फैसला गर्ने कि नगर्ने भन्ने द्विविधामा प्रधानन्यायाधीश परेका छन् ।




