काठमाडौं । फिल्म ‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शन स्थगित भएको छ । शुक्रवार निर्माण कम्पनी सुदर्शन थापा प्रोडक्सनले एक विज्ञप्ती जारी गर्दै फिल्म फागुन ३० गतेबाट प्रदर्शनमा नआउने जानकारी गराएको हो । कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि फिल्मको प्रदर्शन रोकिएको विज्ञप्तीमा उल्लेख छ ।
कोरोनाबाट बच्नका लागि जिल्ला प्रशासनले आवश्यक कामबाहेक बाहिर ननिस्कन, भीड(भाडमा नजान र धेरै मानिस भेला हुने कार्यक्रम नगर्न सूचना जारी गरेको र नेपाल चलचित्र निर्माता संघले समेत सम्भव भएसम्म छायांकन रोक्न सूचना जारी गरेको अवस्थामा कोरोना भाइरसबाट कसैलाई असर नहोस् भन्नका लागि फिल्मको प्रदर्शन रोकिएको जारी विज्ञप्तीमा उल्लेख छ ।
निर्माण टिमले फिल्मको पखाई लम्बिन गएकोमा दर्शकसँग क्षमा पनि मागेको छ । विज्ञप्तीमा उल्लेख भए अनुसार नेपाल सरकारको अर्को सूचना नआउँदासम्म फिल्म प्रदर्शनमा आउने छैन । कोरोनाको त्रासले अहिले हलमा दर्शक जान डराइरहेको अवस्था छ । यसको असर व्यापारमा पुग्ने देखेर निर्देशक सुदर्शन थापाले फिल्मको प्रदर्शन स्थगित गर्ने निर्णय लिएका हुन् ।





