मनोरञ्जन

३० साउनमा खगेन्द्रको ‘पानीफोटो’

काठमाडौं । अभिनेता खगेन्द्र लामिछानेको निर्देशनमा डेब्यू फिल्म ‘पानीफोटो’ले प्रदर्शन मिति घोषणा गरेको छ । निर्माण कम्पनी टुकी आर्ट्स प्रा.लि र मञ्जुश्री फिल्म प्रोडक्सनले साउन ३० गतेलाई फिल्मको रिलिज डेट घोषणा गरेको हो ।

दशक अगाडिको चर्चित नाटक ‘पानीफोटो’ माथि फिल्म निर्माण भएको हो । यो नाटकको लेखन र निर्देशन पनि खगेन्द्र आफैंले गरेका थिए । उनले यो नाटकलाई पुस्तकमा समेत ढालिसकेका छन् । काठमाडौं, चितवन, स्याङ्जा र रोल्पामा छायांकन भएको फिल्ममा रोजिना सिटौला र रविन्द्र बज्राचार्यको संयुक्त लगानी छ । फिल्ममा नयाँ र पुराना कलाकारको समिश्रण छ ।

फिल्म ‘पानीफोटो’ मा खगेन्द्रसँगै अनुप बराल, मेनुका प्रधान, मलिका महत, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि गुरुङ, अजस्र ढुङ्गाना, कमलमणी नेपाल, श्याम कुमार खड्का, कमल देवकोटा, अनोज पाण्डेलगायतका कलाकारको अभिनय छ । फिल्मलाई राम्रो बनाउन आफ्नो तर्फबाट कुनै कसर नछाडेको अभिनेता खगेन्द्रले बताए ।

पन्ध्र वर्ष अगाडि बेपत्ता भएको आफ्नो छोराको पखाईमा बसेका बुबा आमाको कथामा फिल्म आधारित छ । ‘पानीफोटो’ नाटकलाई दृश्यभाषामा उतार्दा आफैंले निर्देशन गर्ने सोचअनुरुप फिल्मको निर्देशन आफैंले गरेको अभिनेता खगेन्द्र बताउँछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *