मुख्य समाचार

नेकपा शीर्ष नेता खुमलटारमा भेला, किन पुगे ओली प्रचण्ड भेट्न ?

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् । शनिबार बिहान ११ बजे उनी खुमलटार पुगेका हुन् ।

प्रधानमन्त्री ओली आउने भएपछि खुमलटार क्षेत्रमा बिहानैदेखि सुरक्षाकर्मी अलर्टमा परिचालन गरिएको थियो । पार्टीमा आन्तरिक विवाद चर्किरहेका बेला ओली प्रचण्डलाई भेट्न खुमलटार पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । ओलीले अध्यादेश फिर्ता नलिए पार्टीले एक्सन लिने प्रचण्डको चेतावनीपछि नेकपा शीर्ष नेता खुमलटारमा भेला भएका हुन् । प्रधानमन्त्रीमा निर्वाचित भएपछि ओली पहिलो पटक खुमलटार गएका हुन् । नेकपाको स्थायी कमिटी बैठक आइतबार बोलाइएको छ ।

प्रचण्ड नेपाल समूहले शुक्रबार मात्रै प्रदेश १ को भेला गरेर पार्टी विभाजन हुनसक्ने संभावना रहेको बताएपछि ओली शनिवार विहान प्रचण्ड निवास खुमलटार पुगेका हुन् ।

शुक्रबार साँझ मात्रै ओली र प्रचण्डबीच बालुवाटारमा भेटघाट भएको थियो । प्रचण्डले शनिबार बिहान खान खाने गरी आउन ओलीलाई निमन्त्रणा गरेका थिए । ओलीसँग संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ पनि खुमलटार गएका छन् । प्रधानमन्त्री ओलीभन्दा डेढ घन्टाअघि नै अर्थमन्त्री एवं नेकपा महासचिव विष्णु पौडेल प्रचण्ड निवास पुगेका थिए ।

प्रचण्ड र माधव नेपालले शुक्रबार जनवर्गीय संगठनको कार्यालय पेरिसडाँडामा प्रदेश १ का आफूनिकट जिल्ला अध्यक्ष, सचिव र केन्द्रीय सदस्यहरूको भेला गरी संगठित विरोधमा उत्रिन निर्देश गरेका थिए । गत साता वाग्मती प्रदेशस्तरीय भेला गरेको प्रचण्ड–नेपाल समूहले यो साता प्रदेश १ को भेला आयोजना गरेको हो । पार्टीभित्र सहमति खोज्नका लागि स्थायी कमिटी बैठक पर सारिरहेका बेला दुवै समूहले गुटगत गतिविधिलाई जारी राख्दै आफ्नो शक्ति सञ्चयलाई निरन्तरता दिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *