मुख्य समाचार

बुटवल र तिलोत्तमामा दुई संक्रमितको मृत्यु

रुपन्देही । रुपन्देहीमा कोरोना संक्रमित दुई जनाको आज बिहान मृत्यु भएको छ ।कोरोना सङ्क्रमण भई बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक महिला र तिलोत्तमा नगरपालिका वडा नं २ मणिग्रामका पुरुषको क्रिमसन अस्पतालमा मृत्यु भएको छ । मंगलबार कोरोना पुष्टि भएकी बुटवल उपमहानगरपालिका–११ की ४१ वर्षीया महिलाको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए ।

कोरोना संक्रमण पुष्टि भएर कोरोना विशेष अस्पताल भर्ना भएकी उनलाइ सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो । मधुमेह रोगबाट पीडित ती महिलाको उपचारका क्रममा आज बिहान ५.१५ बजे मृत्यु भएको हो ।

यस्तै कोरोना संक्रमण भएर सात दिनदेखि होम आइसोलेशनमा बसेका मणिग्रामका ४७ वर्षीय एक पुरुषको पनि आज बिहान नै मृत्यु भएको छ । लामो समयदेखि श्वासप्रश्वास र उच्च रक्तचापको समस्या रहेको उनलाई आज बिहान स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि क्रिमसन अस्पताल पुर्‍याइएको र उपचारका क्रममा मृत्यु भएको तिलोत्तमा नगरपालिकाका प्रेस सल्लाहकार बिपी गौतमले जानकारी दिए ।

तिलोत्तमा नगरपालिकाले मंगलबार नगरभित्र कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *