काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ । केहीबेर अघि प्रधानमन्त्रीलाई भेट्न सरकारी निवास बालुवाटार पुगेका पार्टी अध्यक्ष र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भइरहेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।
दुई अध्यक्षबीच पार्टी एकताका बाँकी काम, सरकारले गर्ने संवैधानिक नियुक्ति तथा राजनीतिक नियुक्ति, मन्त्रिमण्डल हेरफेर लगायतका विषयमा छलफल हुने बताइएको छ । दुई नेताबीच मन्त्रिमण्डल पुनर्गठनका विषयमा लामो समयदेखि कुराकानी भएपनि मिल्न सकेको छैन ।
गत असोज ६ गते बसेको सचिवालय बैठकले एकताका काम १० दिनभित्र सक्ने गरी प्रस्ताव ल्याउने जिम्मा अध्यक्षद्वय र महासचिवलाई दिएको थियो । तर, उक्त प्रस्ताव तयार भइसकेको छैन । रिक्त तीन मन्त्रालयमा मात्रै मन्त्री नियुक्त गर्ने ओलीको चाहाना छ भने, प्रचण्ड अपवाद बाहेक दुई वर्ष पुगेकाहरुको स्थानमा नयाँ मन्त्री नियुक्त गर्नुपर्ने पक्षमा छन् ।




