काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको पिसीआर परीक्षणमा संक्रमण पुष्टि भएको हो । प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले केही दिनअघि स्वाब लिइएकामध्ये १० जनाको पोजेटिभ रिपोर्ट बिहीबार आइपुगेको बताए । योसँगै प्रहरी हेक्वार्टरमा संक्रमितको संख्या ८५ पुगेको छ । मुलुकभर नेपाल प्रहरीका ३ सय १९ जना अधिकारी संक्रमित छन् । तीमध्ये १ सय १९ जना निको भएर काममा फर्किसकेका छन् ।




