काठमाडौं । सरकारले श्रमिकको सुरक्षाका लागि २०७५ साल मङ्सिर ६ गते सामाजिक सुरक्षा कोषको घोषणा गरी सबै श्रमिक तथा रोजगारदातालाई २०७६ साल वैशाख २५ गतेसम्म आबद्ध हुन आग्रह गरेको थियो । श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यक्रमको सुरुवाती चरणमा रोजगारदाताको आकर्षण कम देखिए पनि पछिल्लो समय यसमा आबद्ध हुने रोजगारदाता एवं श्रमिकको सङ्ख्या बढ्दै गएको कोषले जनाएको छ ।
श्रमिकको सुरक्षाका लागि सरकारले सुरु गरेको सामाजिक सुरक्षा कोष कार्यक्रममा हालसम्म १२ हजार पाँच सय २७ रोजगारदाता आबद्ध भएका छन् भने एक लाख ६९ हजार चार सय २१ श्रमिक सूचीकृत भइसकेका छन् । हालसम्म कोषमा एक अर्व ६४ करोड ७१ लाख १८ हजारभन्दा बढी रकम जम्मा भएको कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवालीले जानकारी दिनुभयो ।
श्रमिकको सुरक्षाका लागि उनीहरूको योगदानमा आधारित सामाजिक सुरक्षा कोषले विभिन्न चार वटा योजना तथा कार्यक्रम सञ्चालन गरेर कोषको कामलाई अगाडी बढाएको छ । श्रमिकको पक्षमा काम गर्ने सामाजिक सुरक्षा कोषमा श्रमिकले आफूले खाइपाई आएको सुविधाबाट केही प्रतिशत रकम जम्मा गर्नुपर्ने र त्यसबाट विभिन्न चार वटा योजना तथा कार्यक्रममार्फत कोषले सुविधा उपलब्ध गराउने गर्दछ ।
कोषबाट हालसम्म तीन सय जनाभन्दा बढीले करिब एक करोड रूपैँया बराबरको सुरक्षा सुविधा लिइसकेको कोषले जनाएको छ ।
२०७५ साल मङ्सिरमा स्थापना गरिएको सामाजिक सुरक्षा कोषबाट विभिन्न योजना तथा कार्यक्रममा सुविधा लिइसकेका श्रमिकको सङ्ख्या उल्लेख्य रहेकाले कोषको काम सन्तोषजनक रहेको कोषका कार्यकारी निर्देशक ज्ञवालीले बताउनुभयो । कोषमा आबद्ध भएका श्रमिकले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना अन्तर्गत एक वर्षमा एक लाख बराबरको औषधि उपचार खर्च र सुत्केरी हुँदाको खर्च लिन सक्ने छन् ।
त्यस्तै दुर्घटना र अशक्तता सुरक्षा अन्तर्गत कार्यालयको कामका सिलसिलामा भएको दुर्घटनाको उपचारको सबै खर्च कोषले व्यहोर्ने छ भने दुर्घटनाका कारण अशक्त भई काममा जान नसकेको अवस्थामा खाइपाइ आएको तलबको ६० प्रतिशत रकम असक्तता वृत्तिको रूपमा उपलब्ध गराइन्छ । वृद्धावस्था सुरक्षा सुविधामा श्रमिकले कामबाट अवकाश लिइसकेपछि श्रमिकको योगदानको आधारमा उपदान वा पेन्सनको रूपमा कोषले रकम उपलब्ध गराउने छ ।
श्रमिकको कुनै पनि कारणबाट मृत्यु भएमा आश्रित परिवारलाई पर्न सक्ने आर्थिक सङ्कट निराकरणका लागि कोषले श्रमिकले पाउँदै आएको तलबको ६० प्रतिशतसम्म हुन आउने रकम छोराछोरी भएमा सन्तति वृत्ति तथा आश्रित रोजगारीमा नभएको अवस्थामा श्रमिकको तलबको ६० प्रतिशत हुन आउने रकम हरेक महिना पेन्सनका रूपमा उपलब्ध गराउने कोषले जनाएको छ ।
त्यस्तै वृद्धावस्था सुरक्षा सुविधामा श्रमिकले कामबाट अवकाश लिइसकेपछि श्रमिकको योगदानको आधारमा उपदान वा पेन्सनको रूपमा कोषले रकम उपलब्ध गराउने छ ।




