मुख्य समाचार

लकडाउन पूर्णरुपमा हटेपछि जनकपुर–जयनगर रेल सञ्चालनमा आउने

जनकपुरधाम । नेपालको एक मात्र जनकपुर जयनगर ब्रोडगेज रेल सेवा लकडाउन पूर्णरुपमा हटेपछि सञ्चालनमा आउने भएको छ । त्यसका लागि दुईवटा इन्जिन तथा आठ वटा वोगी तयारी अवस्थामा राखिएको रेल विभागले जानकारी दिएको छ ।

नेपाल सरकारले भारतीय कम्पनीसँग खरिद गरेको डिजल तथा इलेक्ट्रिकबाट चलाउन मिल्ने दुईवटा इन्जिन तथा आठवटा वोगी भारतको सोनपुरमा तयारी अवस्थामा रहेको नेपाल रेल विभागका साइट कार्यालय जनकपुरधामका प्रमुख एवं इन्जिनियर बिनोद ओझाले जानकारी दिए ।

निर्माण भएका वोगीमा दुईवटा एसी रहेको छ भने बाँकी रहेका छ वटा साधारण वोगी रहेको छ । नेपाल सरकारले खरिद गरेको सो रेल वोगीसहितको इन्जिन भारतको जयनगरदेखि नेपालको जनकपुरधामको कुर्थासम्म सञ्चालनका लागि सबै संरचनाहरू पूर्णरुपमा तयारीको अवस्थामा रहेको छ ।

केही कुराहरू बिग्रेको वा हराएकोमा त्यसको मर्मत गरेपछि सञ्चालन गर्न मिल्ने साइट कार्यालयका इन्जिनियर ओझाले जानकारी दिए । भारतको जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटरको दूरी रहेको छ । कुर्थादेखि पश्चिमको भागमा पनि निक्कै काम भए पनि अरू ठाउँमा काम बाँकी नै रहेकाले अहिले कुर्थासम्म सञ्चालन गर्ने तयारीमा रहेको छ ।

नेपाल सरकारले खरिद गरेको रेलमा एक पटकमा बसेर वा उठेर आरामले एक हजार दुई सय जना यात्री ओहोरदोहोर गर्न मिल्ने रेल विभागले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *