काठमाडौं । कलामार्फत अन्तरदेशीयसम्बन्ध विस्तार गर्ने उद्देश्यले ‘काठमाडौं अन्तर्राष्ट्रिय कला प्रदर्शनी’ हुँदैछ ।
बौद्धस्थित तारा गाउँ म्युजियममा शुक्रबार हुन लागेको उक्त प्रदर्शनीमा १० विदेशी कलाकार र १२ नेपाली कलाकारले सिर्जना गरेका चित्रकला एक साथ देख्न सकिन्छ ।
प्रदर्शनीका संयोजक एवं कलाकार रोशन प्रधानका अनुसार कलाले सम्बन्ध सुमधुर र प्रगाढ बनाउन मद्दत गर्ने हुँदा विदेशी कलाकारको सहभागितामा जोड दिएको बताए । भारत, अमेरिका, कोरिया, जापान, फिलिपिन्स, थाइल्यान्ड र भुटानका कलाकार सहभागी हुन लागेको प्रधानले जानकारी दिए ।
‘कला प्रदर्शनी र पर्यटन प्रवर्द्धन दुवै उद्देश्य एकसाथ पूरा हुन्छ’, उनले भने, ‘विदेशी कलाकार घुमफिर गरेसँगै नेपालको सांस्कृतिक र प्राकृतिक दृश्यसमेत कलामा उतार्न सघाउ पुग्छ ।’ अन्तर्राष्ट्रिय रुपमा चित्रकला प्रदर्शनी नेपालमा गर्दा उहाँले एउटा नेपाली कला संस्कृतिको प्रवर्द्धन हुनुको साथै पर्यटनको आकर्षण बढाउन सकिने उनले बताए ।
प्रदर्शनीमा कलाकारले आ–आफ्नो दृष्टिकोण र सिर्जना क्यानदासमा प्रस्तुत गर्नेछन् ।
प्रदर्शनीमा विधाता केसी, प्रतिमा माखिम, कपिलमणि दीक्षित, मनिषलाल श्रेष्ठ, प्रधुम्न श्रेष्ठ, डा प्रकाश किशोर, पृथ्वी श्रेष्ठ, रोशन भण्डारी, रोशन मिश्र, डा सुबोध सागर ढकाल लगायतका चित्र राखिने छन् ।