काठमाडौं । डा.प्रकाशचन्द्र लोहनीले सबै राष्ट्रिय नेताहरुको सम्पत्ति नागरिक आयोग गठन गरि छानविन गर्नुपर्ने दावी गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राप्रपाका पूर्व अध्यक्ष समेत रहेका लोहनीले भ्रष्टाचार नियन्त्रण गर्न राष्ट्रिय सुरक्षाका विषय बाहेक अन्य सबै ठेक्कापट्टा र सरकारी खरिदका निर्णयहरु जनताले हेर्न पाउनुपर्ने समेत बताए ।
उनले परराष्ट्र नीति सत्ता जोगाउन नभई राष्ट्र जोगाउन प्रयोग हुनुपर्ने भन्दै भने, ‘परराष्ट्र नीति सत्ता जोगाउन हैन राष्ट्र जोगाउन प्रयोग गर्नुपर्छ ।’ उनले कर्मचारीलाई दासको रुपमा नभई राष्ट्रसेवकको रुपमा व्यवहार गर्नुपर्ने समेत बताए । उनले भने, ‘कर्मचारीलाई दासको रुपमा नभई राष्ट्रसेवकको रुपमा व्यवहार गर्नुपर्छ । लक्ष्यअनुसार काम गर्ने कर्मचारीलाई बोनसको व्यवस्था गर्नुपर्छ ।’
खाद्यान्न उत्पादन बढाउन तराईमा उत्पादन हुने वस्तुका लागि छुट्टै बजार व्यवस्थापन गर्नुपर्ने नेता लोहनीले बताए । तराईमा उत्पादित वस्तुहरु आकर्षक मूल्यमा खरिद गरि सरकारले बजार व्यवस्थापन गर्नुपर्ने नेता लोहनीको भनाई थियो ।




