ताजा समाचार

उपत्यकामा पाँच सय ‘फायर हाइड्रेन्ट’

काठमाडौँ । राजधानीमा बढ्दै गएको आगलागी जोखिमलाई दृष्टिगत गर्दै उपत्यकाको चक्रपथभित्र पाँच सय स्थानमा ‘फायर हाइड्रेन्ट’ स्थापना गरिने भएको छ । दमकलले पानी भर्न मिल्नेगरी प्रविधि जडान गरिनुलाई ‘फायर हाइड्रेन्ट’ भनिन्छ । मेलम्ची आयोजनाले पानी वितरणका लागि पाइप जडान भइसकेका क्षेत्रमा अहिलेसम्म २५० स्थानमा ‘फायर हाइड्रेन्ट’ जडान गरिसकेको छ ।

बाँकी क्षेत्रमा सो प्रविधि जडान गर्ने स्थानसमेत पहिचान भई काम अगाडि बढाइएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । सहरी क्षेत्रमा आगलागी जोखिम नियन्त्रण तथा व्यवस्थापनका लागि ‘फायर हाइड्रेन्ट’ प्रविधि अन्तर्राष्ट्रिय रूपमै प्रभावकारी मानिन्छ ।मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक कमलराज श्रेष्ठले राजधानीमा पानी वितरण तयारीसँगै ‘फायर हाइड्रेन्ट’ जडानसमेत सुरु गरिएको जानकारी दिनुभयो । घना बस्ती र आवादीका कारण आगलागी जोखिम बढ्दै गएको राजधानीमा मेलम्चीको पानी वितरणसँगै आगलागी नियन्त्रण, दैवीप्रकोप तथा विपत् व्यवस्थापनका लागि सहज र उपयोगी हुने‘फायर हाइड्रेन्ट’ सञ्चालनमा ल्याउन लागिएको हो । थप माग र आवश्यकताका आधारमा अरू ठाउँमा ‘फायर हाइड्रेन्ट’ जडान गरिनेछन् ।
‘फायर हाइड्रेन्ट’ सञ्चालनका लागि कार्यविधिसमेत निर्माण भइरहेको छ । गृह मन्त्रालयको अनुमति तथा सम्बन्धित स्थानीय तहको समन्वयमा ‘फायर हाइड्रेन्ट’ स्थापना कार्य भइरहेको छ । मेलम्चीको पाइपलाइन जडान हुने ठाउँको प्रत्येक पाँच–पाँच सय मिटरको दूरीमा ‘फायर हाइड्रेन्ट’ राख्ने लक्ष्य रहेकोे छ ।
गोरखापत्रमा खबर छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *