काठमाडौं ।कांग्रेसका वरिष्ठ नेता तथा पाँचदलीय गठबन्धन समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले समन्वय समितिले सरकारको काममा कुनै पनि प्रकारको हस्तक्षेप नगर्ने बताएका छन् । मंगलवार पत्रकारसँगको कुराकानीका क्रममा पौडेलले सरकार जनता र संसदप्रति उत्तरदायी निर्वाचित संस्था भएको उल्लेख गर्दै पाँच दलीय गठबन्धन समन्वय समितिले सरकारको कुनै पनि काममा हस्तक्षेप नगर्ने स्पष्ट पारेका हुन् ।
वर्तमान राजनीतिक व्यवस्थालाई सुनिश्चित गर्न र लोकतन्त्रलाई सुनिश्चित गर्नुपर्ने आवश्यकता औल्याउँदै उनले त्यसैको समन्वय गर्न समिति बनाइएको बताए । उनले भने, ‘सरकार भनेको जनताप्रति उत्तरदायी निर्वाचित संस्था हो । त्यो सबै किसिमले जनताप्रति, संसदप्रति उत्तरदायी बन्छ । त्यसकारण उसको काममा हामीले दख्खल दिने कुरो गर्नु हुन्न । लोकतन्त्रवादीको नाताले सरकारको क्रियाकलाप, गतिविधिमा हस्तक्षेप गर्ने अथवा त्यसलाई दख्खल दिने कुनैपनि कुरा गर्न उचित हुँदैन । अहिले यो किन आवश्यकता भयो भने यो पाँच दलको गठबन्धनले अहिले पनि लोकतन्त्रको रक्षाको लागि, व्यवस्थाको रक्षाको लागि, सत्ताको कुरा होइन व्यवस्थाको रक्षाको लागि । मैले जहिल्यै पनि भन्छु म सत्तालाई भन्दा अहिलेको अवस्थामा व्यवस्थालाई महत्व दिन्छु भनेर, किनभने व्यवस्था सुनिश्चित गर्नुछ नेपालमा । व्यवस्थाको टुंगो नलागेर, व्यवस्थालाई अस्थिर गराउने खेलहरुले गर्दा नेपाली जनताले दुःख पाएका छन् । त्यसोहुनाले यो पाँच दलले व्यवस्थालाई सुनिश्चित गर्नका लागि, लोकतन्त्रलाई सुनिश्चित गर्नका लागि, राष्ट्रियतालाई स्थिर दिशामा अगाडि बढाउनको लागि पाँच दलले योगदान गर्न सकुन् भनेर त्यसलाई समन्वय गर्नका लागि बनेको कमिटी हो यो ।’
पौडेलले समन्वय समितिलाई कसैले राजनीतिक हतियारको रुपमा प्रयोग गर्नु नहुने बताए । समन्वय समितिको काम व्यवस्थामाथि आइपर्ने समस्याहरुको बारेमा पाँच दलीय गठबन्धनलाई सजग राख्दै गठबन्धनलाई संगठित राख्नु र समझदारी कायम राख्नु रहेको उनले बताए । उनले भने ‘कसैले उपयोग गर्ने अथवा सरकारको काममा दख्खल दिने रुपमा यसलाई हतियार बनाउने कुरा हामी मान्दैनौँ । यसले सरकारको काममा हस्तक्षेप गर्ने, दख्खल गर्ने काम गर्नै हुन्न । यसलाई केवल व्यवस्थामाथि आइपर्ने समस्याहरु जे हुन्छन्, त्यसमा मात्रै देशलाई सजग राख्ने हो । पाँच दललाई सजग राख्ने हो । पाँच दललाई संगठित राख्ने हो । पाँच दललाई व्यवस्थाको रक्षाको लागि, संविधानको रक्षाको लागि, राष्ट्रियताको रक्षाको लागि संगठित राख्ने र समझदारी र सहकार्ययुक्त बनाएर लैजाने ।’




