समाचार

टोखाले दुई अस्पतालबाट कोरोना खोप उपलब्ध गराउने

काठमाडौ । टोखा नगरपालिकाले दुई अस्पतालबाट कोभिड–१९ विरुद्धको चिनियाँ भेरोसेल खोप उपलब्ध गराउने भएको छ । चीन सरकारले उपलब्ध गराएको १० लाख डोज कोरोना खोप ६० वर्षदेखि ६४ वर्ष उमेर समूहलाई लगाउने सरकारले घोषणा गरेसँगै टोखाले पनि दुई अस्पतालबाट खोप उपलब्ध गराउन लागेको हो ।

नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले आजदेखि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी र अल नेपाल अस्पताल सामाखुशीबाट बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप उपलब्ध गराउन लागेको जानकारी दिए ।

टोखाले कोरोना खोपका लागि अनलाइन फारम भरेका नागरिकलाई मोबाइलबाट म्यासेज पठाउने र खोपका लागि उपस्थित हुनका लागि सूचना दिने तथा फारम नभरेका नागरिकलाई नागरिकतासहित दिउँसो २ बजे नजिकको खोप केन्द्रमा उपस्थित हुन आग्रहसमेत गरेको छ ।

टोखाले ६० वर्ष उमेर समूहलाई जेठ २५, ६१ वर्ष उमेर समूहलाई जेठ २६, ६२ वर्ष उमेर समूहलाई जेठ २७, ६३ वर्ष उमेर समूहलाई जेठ २८ र ६४ वर्ष उमेर समूहलाई जेठ २९ गते खोप उपलब्ध गराउने जनाएको छ । विसं २०१३ असार १ देखि २०१८ असार मसान्तभित्र जन्मिएका जो कोहीलाई खोप उपलब्ध गराउने उपप्रमुख डङ्गोलले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *