डाटी । डोटीको दक्षिणी क्षेत्रमा पर्ने जोरायल गाउँपालिका वडा नं ५ गडसेरा स्थित चौकी गाउँमा रहेको जनप्रिय आधारभुत बिद्यालयमा अज्ञात रोगका कारण बिद्यालयमा भएका ३५ जना बिद्यार्थी एका एक बिरामी परेका छन्।
यहि फागुन २१ गते देखि सो बिद्यालयको होस्टेलमा रहेका बिद्यार्थीबाट उक्त रोग सुरु भएको भएपनि अहिले सम्म रोगको पहिचान हुन नसकेकको स्थानीयबासी तथा शिक्षक हर्कबहादुर कठायतले जानकारी दिए । उनका अनुसार बिद्यार्थीहरुलाइ ज्वरो आउने, नाक र मुखबाट सिगान र ¥याल जस्तो पानी बग्ने गरेको छ ।
बिद्यार्थीहरु एका एक बिरामी पर्न थालेपछि नजिकै रहेको गड्सेरा स्वास्थ्य चौकीका चिकित्सकहरुको टोलीले बिद्यार्थीको उपचार गरेपनि निको नहुँदा अहिले बिद्यार्थीहरु बडीकेदार गाउँपालिका १ बिपिनगरमा रहेका स्वास्थ्य चौकी तथा कैलाली तर्फ उपचारकालागि लैजाने तयारी भएको सो बिद्यालयका अर्का शिक्षक प्रेमबहादुर बोगटीले बताए ।
उनले भने “बिद्यार्थीहरु सबै बिरामी परेका छन्, बिद्यालय नै बन्द गर्नु पर्ने अवस्था आएको छ, उपचारका लागि कैलाली तर्फ लैजाने तयारी भैरहेको छ ।” उता डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बिद्यार्थीहरु कसरी र के कारणले बिरामी परेका हुन सो विषयमा बुझन तथा उपचार गर्नका लागि जिल्ला स्वास्थ्य कार्यालय डोटीबाट चिकित्सक टोली पठाउने व्यवस्था मिलाएको बताए ।
उनले भने “उपचारका लागि चिकित्सक टोली पठाउन स्वास्थ्य कार्यालयलाइ निर्देशन दिएको छु, टोली जान्छ के भएको हो अनि मात्रै भन्न सकिन्छ ।” आफना नानी बाबुहरु एका एक बिरामी परेका कारण बिद्यार्थीका अभिभावकहरु पनि चिन्तित बनेका छन् ।




