ताजा समाचार

प्रधानमन्त्री ओलीको आज मिर्गौला प्रत्यारोपण हुदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गर्न सबै तयारी पूरा भएको छ । उनको मंगलबार ‘डायलसिस’ गरिएको छ भने प्रत्यारोपणपछि शरीरलाई अन्य व्यक्तिको मिर्गौला स्वीकार गर्न सहज बनाउन ‘इम्युनो सप्रेसेन्ट’ औषधि चलाइएको छ ।

शल्यक्रिया अघि आवश्यक सबै परीक्षण गरिएको छ । यसअघि मुटुलगायतका परीक्षण भइसकेका उनको फोक्सोको स्थितिसमेत राम्रो देखिएको चिकित्सकले बताएका छन् । त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रा।डा। प्रेमकृष्ण खड्गाका अनुसार प्रत्यारोपणका लागि आवश्यक सबै तयारी गरिएको छ । ओलीको स्वास्थ्य अवस्था अहिले जस्तै सामान्य रहे बुधबार बिहान ९ बजे शल्यक्रिया सुरु हुने जानकारी उनले दिए ।

ओलीको मिर्गौला प्रत्यारोपण गर्ने शल्यक्रिया टोलीमा अस्पतालका युरोलजी तथा मिर्गौला प्रत्यारोपण विभागका प्रा.डा. उत्तम शर्मा, प्रा.डा. प्रेम ज्ञवाली, डा.पवनराज चालिसे, डा. सुमन चापागाईं, डा. सुजित पौडेल र डा. मनीष प्रधानसँगै भारतीय डा. अनन्त कुमारसमेत हुनेछन् ।

प्रधानमन्त्री ओलीलाई उहाँकी भान्जी समीक्षा कोइरालाले मिर्गौला दान गर्नुहुनेछ । यसअघि प्रधानमन्त्री ओलीको विसं २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *