चैत्र १२ गते साेमबार संकल्प खबरले दिनभरी घटेका मुख्य १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । साेमबार तयार पारिएको मुख्य १० समाचारमा शान्ति समाजले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा देखि शर्मिला वाइबालाई धरौटीमा छोड्न आदेशसम्मका समाचार समेटिएको छ ।
हेर्नुहोस आजका मुख्य १० समाचार
शान्ति समाजले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
शान्ति समाजले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने राजीनामा माग गरेको छ । समाजले सोमबार एक विज्ञप्ति जारी गर्दै सहकारी घोटाला प्रकरणमा उपप्रधान एवं गृहमन्त्री लामिछानेको संलग्नताका तथ्यहरु सार्वजनिक भइसकेको सन्दर्भमा शिघ्र निष्पक्ष एवं प्रभावकारी छानविन अघि बढाउन आग्रह गर्दिया नैतिक रुपमा मार्ग प्रशस्त गर्न आग्रह गरेको हो । समाजले केही भ्रष्टाचार-घोटाला प्रकरणमा अनुसन्धान भएता पनि सौदाबाजीका कारण मूल दोषीहरुले उन्मुक्ति पाउँदै आएको देखिएको उल्लेख गर्दै सत्तारुढ नेकपा माओवादी केन्द्रका माथिल्लो तहका नेताहरु संलग्न सुन काण्ड त्यसको पछिल्लो उदाहरण भएको र लामिछानेले आफुतिर सोझिएको सहकारी प्रकरणबाट उन्मुक्ति पाउन सौदावाजी गरेको धारणा आफुहरुको रहेको उल्लेख गरेको छ ।
यसैगरी समाजले नेपाली कांग्रेसको नेतृत्वको नियत पनि आफ्नो परिवारका सदस्य (समानुपातिक तर्फबाट सांसद समेत) माथि कुनै पनि प्रकारको छानविन नहोस भन्ने सौदावाजीको रणनीतिले प्रेरित भएको घटनाक्रमले देखाएको उल्लेख गरेको छ । समाजका सभापति रामकृष्ण बरालले जारी गरेको विज्ञप्तिमा भनिएको छ छ- ‘सुशासन र सदाचार विपरित विभिन्न घोटालाका मूल दोषीहरुलाई उन्मुक्ति दिने गरी हुर्किरहेको सौदावाजीको घिनलाग्दो राजनीतिको शान्ति समाज निन्दा गर्दछ ।’
दीपक कार्कीले लिए वन तथा वातावरण राज्यमन्त्रीको शपथ
दीपक कार्कीले वन तथा वातावरण राज्यमन्त्रीको शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार कार्कीले राज्यमन्त्रीको शपथ ग्रहण गरेका हुन् । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राज्यमन्त्रीको शपथ ग्रहण गराएका हुन् । यसअघि कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले राज्यमन्त्री नियुक्त गरेका थिए । उनलाई प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राज्यमन्त्रीमा नियुक्त गरिएको हो । उनी जसपाबाट राज्यमन्त्री बनेका हुन् भने वन मन्त्रालयमा सोही पार्टीबाट नवलकिशोर साह सुडी मन्त्री रहेका छन् ।
गृह सचिब, प्रहरी प्रमुख र सीआईबी प्रमुखलाई राज्य व्यवस्था समितिले बोलाउँदै
संसदको राज्य व्यवस्था तथा सुशासन समितिले गृह मन्त्रालय सम्बध्द बिषयमा छलफल गर्न केही उच्च अधिकारीलाई बोलाउने भएको छ । गृहसँग सम्बध्द केही बिषयमा गम्भीर रुपमै छलफल गर्नुपर्ने भएकाले गृह सचिव, नेपाल प्रहरीका महानिरीक्षक र प्रहरीको केन्द्रीय अुनसन्धान व्यूरो (सीआईवी) प्रमुखलाई यही १४ गते समितिमा बोलाउन लागिएको सचिवालयले जानकारी दिएको छ ।
राज्य व्यवस्था समितिका सदस्य रहीसकेका सांसद रबि लामिछाने अहिले गृह मन्त्रालयको नेतृत्वमा छन् । गृहमा उनकै बिरुध्दमा कार्बाहीको माग गर्दै केही निवेदनहरु परेका छन् । त्यसबाहेक सुशासनसँग सम्बन्धित केही ऐन संशोधन गर्न तयार भएका विधेयक पनि छलफल गरेर टुंगो लाउनुपर्ने अवस्थामा रहेका सचिवालयले जनाएको छ । संवैधानिक परिषद ऐनमै संशोधन गर्ने भनेर छलफलकै चरणमा रहेको विधेयक सत्ता समीकरण फेरबदल भएपछि अड्किएको छ भने दलहरुको अडान अब के हुने भन्ने पनि अस्पष्ट रहेको बुझिएको छ । समितिका तीन सदस्य त वर्तमान सरकारमा उपप्रधानमन्त्री छन् । गृहमन्त्री लामिछाने, उपेन्द्र यादव र रघुबीर महासेठ उपप्रधानमन्त्री छन् ।
राष्ट्रिय सभामा कांग्रेसको प्रमुख सचेतकमा रोकाय मनोनीत
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभाको प्रमुख सचेतकमा कृष्णबहादुर रोकायलाई मनोनीत गरेको छ । रोकायलाई सचेतक मनोनीत गरेको संसदीय दलको कार्यालयले जनाएको छ । नेपाली कांग्रेस संसदीय दल राष्ट्रियसभाको प्रमुख सचेतकमा राष्ट्रियसभा सदस्य कष्णबहादुर रोकायज्यू मनोनीत हुनुभएको छ’, विज्ञप्तिमा भनिएको छ । माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा रोकाय कर्णाली प्रदेशबाट निर्वाचित भएका थिए ।
इलाम २ मा समाजवादीको उम्मेदवार हुन्छ : माधव नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार उठाउने तयारी भइरहेको बताएका छन् । सोमबार काभ्रेको बनेपामा आयोजित पार्टीको १० औं जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीका पदाधिकारीहरूलाई सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले उपनिर्वाचनका लागि सम्भव भएसम्म अन्य दलहरूसँग सहकार्य गर्ने नभइ एक्लै चुनाव लड्ने मानसिकताका साथ पार्टीले तयारी गरिरहेको बताएका हुन् । उनले इलाममा उम्मेदवारी दिने विषयमा माओवादी केन्द्र र समाजवादी मोर्चाभित्र छलफल गर्ने भन्दै बझाङमा उम्मेदवार खडा गर्न कसैले रोक्न नसक्ने स्पष्ट पारे । सोमबार बिहान प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र आफूबीच भएको छलफलका क्रममा पनि उपनिर्वाचनमा उम्मेदवार उठाउने जानकारी गराएको उनले बताए
दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको गिरावट देखिएको छ ।नेप्से परिसूचक १७ दशमलव ०१ अङ्कले घटेर दुई हजार ३१ दशमलव ५५ को बिन्दुमा कायम भएको छ ।आज तीन सय चार कम्पनीका ७० लाख ६१ हजार १२ कित्ता शेयर ४४ हजार दुई सय ३६ पटक खरिदबिक्री हुँदा रु दुई अर्ब ४८ करोड ९१ लाख १८ हजार चार सय ८५ बराबरको कारोबार भएको छ । होटल तथा पर्यटन समूह शून्य दशमलव ४५, उत्पादन तथा प्रशोधन दुई दशमलव १९, म्युचुअल फन्ड शून्य दशमलव १९ र व्यापार समूह शून्य दशमलव ३० प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।
बैंकिङ एक दशमलव २२, विकास बैंक एक दशमलव ४९, वित्त शून्य दशमलव ८५, जलविद्युत् एक दशमलव १२ र लगानी समूह शून्य दशमलव ३६ प्रतिशतले घटेको छ । त्यसैगरी, जीवन बीमा समूह शून्य दशमलव ९६, उत्पादन दुई दशमलव २५, निर्जीवन बीमा शून्य दशमलव ७७ र अन्य समूह शून्य दशमलव ५४ प्रतिशतले घटेको छ ।
बोटलर्स नेपाल (बालाजु) लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वोत्तम सिमेन्ट लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेको छ । त्यसैगरी, किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै गुर्खाज फाइनान्स लिमिटेडको रु २८ करोड ९० लाख २५ हजार आठ सय ५६ बराबरको कारोबार भएको छ ।
इलाम २ को उम्मेदवारमा कांग्रेस कोशी प्रदेशले पठायो जिल्लाबाटै सिफारिस सात जनाको नाम
आउँदो वैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ प्रतिनिधि सभाको उपनिर्वाचनका लागि नेपाली कांग्रेस कोशी प्रदेश समितिले आकांक्षीहरुको नाम केन्द्रीय समितिमा पठाएको छ । कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापाका अनुसार चैत ११ गतेको मिति राखेर आकांक्षी उम्मेदवारहरुको नाम केन्द्रमा पठाइएको हो । ‘कांग्रेस इलाम कार्य समितिले पठाएको सात जनाको नाम जस्ताको त्यस्तै प्रदेश समितिले निर्णय गरेर केन्द्रमा पठाएका छौं । बाँकी विषयमा केन्द्रीय समितिले नै निर्णय गर्छ,’ सभापति थापाले भने ।
कांग्रेस इलाम जिल्ला कार्य समिति इलामले पनि चैत्र ७ गते नै आकांक्षी उम्मेदवारहरुको नाम प्रदेश समितिलाई पठाइसकेको कांग्रेस इलामका सचिव पूर्ण गौतमले जानकारी दिए । ‘क्षेत्र नम्बर २ को क्षेत्रीय समितिको बैठकले गरेको निर्णयको प्रतिलिपीसहित प्रदेशमा पठाएका हौं । इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा उपनिर्वाचनलाई लक्षित गरी जिल्ला सभापति, पदाधिकारी, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यहरु, क्षेत्रीय पदाधिकारीहरु एवम आकांक्षीहरुको उपस्थितिमा जे निर्णय भएको थियो त्यही निर्णयलाई आधार मानेर प्रतिलिपीसहित चत्र ७ गते निर्णय गरेर प्रदेश समितिलाई पठाइसकेका छौं,’ सचिव गौतमले भने ।
गत मंगलबार इलामको चुलाचुलीमा बसेको पार्टी क्षेत्रीय कार्यसमितिको बैठकले उमेदवारको नाम सिफारिस गरेको हो । क्षेत्रीय सभापति डिकेन्द्र इदिङ्गोका अनुसार विधानले दिएको अधिकार र व्यवस्था अनुसार आकांक्षीहरुको नाम पठाइएको हो ।सभापति इदिङ्गोले भने,‘क्षेत्रीय समितिको बैठकबाट पहिलो नम्बरमा महासमिति सदस्य एवम महाधिवेशन प्रतिनिधि भेषराज आचार्यको नाम समावेश गरेर पठाएका छौं । दोस्रो नम्बरमा पूर्वसांसद केशव थापाको नाम सिफारिस गरेका छौं ।’ त्यस्तै क्रमशः जिल्ला सभापति डम्बर खड्का, संविधानसभा सदस्य नगेन्द्र कुमाल र नेता रमेश लिङ्देनको नाम सिफारिस गरिएको पनि उनले जानकारी दिए । बैठकले आकांक्षीद्वय चन्द्रमाया लिम्बू र चन्द्रकला राईको नाम पनि सिफारिस गरेर पठाइएको उनले बताए ।
एमाले उपाध्यक्ष तथा उक्त क्षेत्रका सांसद सुवासचन्द्र नेम्वाङको गत भदौमा निधन भएको थियो । त्यसैले निर्वाचन हुन लागेको हो । कांग्रेसबाट मुख्यगरी आचार्य, थापा, सभापति खड्का र कुमाल मुख्य आकांक्षीका रुपमा दौडधुपमा छन् । इलाम क्षेत्र नम्बर २ कांग्रेसको बलियो क्षेत्र मानिन्छ । राष्ट्रिय राजनीतिमा स्थापित नेम्बाङको निधनपछि मुख्य प्रतिस्पर्धी एमालेभित्र उम्मेदवारमा रस्साकस्सी चलिरहेको बेला कांग्रेसले यसपटक सकरात्मक परिणाम निकाल्ने अपेक्षा गरिएको छ । आधिकारिक उम्मेदवार बन्नका लागि कांग्रेसका अधिकांश नेताहरु काठमाडौं केन्द्रित छन् । विशेषगरी आचार्य र खड्का पक्ष अलग अलग समूह बनाएर केन्द्रीय नेताहरुको घरदैलो गरिरहेका छन् । एक नम्बरमै नाम सिफारिस भएपछि आचार्य समूह उत्साहित छ । केन्द्रिय समितिले चैत्र १५ सम्ममा आधिकारिक उम्मेदवारको नाम टुंगो लगाउनेगरी तयारी गरिरहेको छ ।
अर्थ मन्त्रालयद्वारा भूकम्पमा भत्किएका ७ सय विद्यालय भवन निर्माणका लागि बजेट व्यवस्थापन
अर्थ मन्त्रालयले जाजरकोट भूकम्पका कारण ध्वस्त विद्यालय भवन पुनः निर्माणका लागि आवश्यक रकम व्यवस्थापन गर्ने भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेटबाट शैक्षिक संस्थाका भवन पुनः निर्माण गरिने भएको हो ।
सोमबार अर्थमन्त्री वर्षमान पुन र शिक्षामन्त्री सुमना श्रेष्ठसहित दुवै मन्त्रालयका प्रशासनिक नेतृत्वबीच अर्थ मन्त्रालयमा भएको छलफलमा सो सहमति भएको हो । भूकम्पका कारण जाजरकोट, रुकुमपश्चिम र बझाङमा गरी ७ सय बढी विद्यालय भवन भग्नावशेषमा परिणत भएका थिए । छलफललगत्तै अर्थमन्त्री पुनले चालु आर्थिक वर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि विनियोजन भएर खर्च हुन बाँकी रहेको रकम विद्यालय भवन पुनः निर्माणमा खर्च गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । जाजरकोटको बारेकोट गाउँपालिका–१ लामिडाँडा केन्द्रबिन्दु भएर गत १७ कात्तिको राति ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पका कारण तीन जिल्लामा पूर्ण र आंशिक गरी करिब ७ सय विद्यालय भवन भत्किएका थिए ।
यस्तै दुई मन्त्रालयबीच आगामी आर्थिक वर्ष २०८१/०८१ देखि राष्ट्रपति शैक्षिक सुधार शीर्षकमा बजेट बिनियोजन नगर्ने सहमति भएको छ । सरोकारवालाहरुबाटै उक्त कार्यक्रम प्रभावकारी नभएको गुनासो पटकपटक आउने गरेको थियो ।
यद्यपि आगामी आर्थिक वर्षमा नवप्रवर्तन शीर्षकमा भने बजेट वृद्धि गरिने अर्थमन्त्री पुनले बताए । ‘परिणाम नदिने खालका कार्यक्रम हटाएर नवप्रवर्तनलगायत नयाँ कार्यक्रममा बजेट बढाउने नीति लिइनेछ’, उनले भने ।
दुर्गा प्रसाईको बीएण्डसीलाई सम्बन्धन दिन सर्वोच्चको आदेश
मेडिकल व्यवसायी दुर्गा प्रसाईँको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतबाट रिट जारी भएको छ ।सोमबार न्यायाधीशहरू डा. कुमार चुडाँल र सारङ्गा सुवेदीको इजलासले बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो । आदेशमा बीएण्डसी मेडिकल कलेजले प्रक्रिया पुर्याएको भए सम्बन्धन दिन आदेश गरेको छ । प्रसाईले मेडिकल शिक्षा अध्यापनका लागि सरकारबाट एलओसी पाएर संरचना निर्माण गरिसकेको अवस्थामा अध्यापन अनुमति नदिएको भन्दै काठमाण्डौ विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगलगायतलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।
शर्मिला वाइबालाई धरौटीमा छोड्न आदेश
काठमाडौँ जिल्ला अदालतले आफूलाई अभियन्ता दाबी गर्ने शर्मिला वाइबालाई धरौटीमा छोड्न आदेश दिएको छ । कुटपिट र विद्युतीय कारोबारको मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेकी वाइबालाई अदालतले छोड्ने आदेश दिएको हो । उनलाई कुटपिट मुद्दामा १० हजार र विद्युतीय कारोबार मुद्दामा २५ हजार रुपैयाँ धरौटी मागिएको अदालत स्रोतले जानकारी दिएको छ । वाइबाले आफूलाई कुटपिट र ब्ल्याकमेलिङ गरेको भन्दै म्याकुरीले महाराजगञ्ज प्रहरीमा जाहेरी दिएका थिए ।




