पौष २५ बुधबार संकल्प खबरले दिनभरी घटेका मुख्य १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । बुधबार तयार पारिएको मुख्य १० समाचारमा महेशविक्रम शाहलाई तीन वर्ष कैद देखि बालेनलाई अर्को धक्का, सर्वोच्चद्वारा विद्यालय व्यवस्थापन समितिसम्बन्धि निर्णय बदर सम्मका समेटिएको छ ।
हेर्नुहोस आजका मुख्य १० समाचार
महेशविक्रम शाहलाई तीन वर्ष कैद
काठमाडौं । नेपाल प्रहरीका पूर्व डीआईजी तथा मदन पुरस्कार विजेता साहित्यकार महेशविक्रम शाहलाई ३ वर्ष जेल सजाय तोकिएको छ । भ्रष्टाचार आरोपमा दोषी ठहर भएका शाहलाई बुधबार विशेष अदालतले तीन वर्ष कैद सजाय सुनाएको हो । क्षेत्रीय तालिम प्रहरी कार्यालय प्रमुख रहेका बेला रकम हिनामिना गरेको प्रकरणमा तत्कालिन डीआईजी शाहसहित २ जना दोषी ठहर भएका थिए । शाहलाई बिगो र बिगो बमोजिम जरिवाना पनि भएको छ । १६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर भएको थियो ।
सन्दीप लामिछानेलाई आठ वर्ष कैद सजाय
सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई आज सजाय तोकेका हुन् । यसअघि सन्दीप बलात्कार आरोपमा दोषी ठहर भएका थिए ।
यसअघि ७ देखि १० वर्षसम्म कैद सजाय हुने दफालाई टेकेर लामिछानेलाई दोषी ठहर गरिएको थियो । यसैबीच, सन्दीप लामिछाने उच्च अदालत जाने भएका छन् । न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गर्ने फैसला गत पुस १३ गते गरेको थियो ।
गठबन्धनले बनायो लेखकको संयोजकत्वमा राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समिति
सत्ता गठबन्धनले कांग्रेस नेता रमेश लेखकको संयोजकत्वमा राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समिति गठन गरेको छ ।केन्द्रीय समन्वय समितिमा माओवादी केन्द्रका वर्षमान पुन, एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे र जसपाका मनिष सुमन सदस्य रहेका छन् । समितिले सात वटै प्रदेशमा राष्ट्रिय सभा निर्वाचन प्रदेश समन्वय समिति–२०८० र सतहत्तर वटै जिल्लामा राष्ट्रिय सभा निर्वाचन जिल्ला समन्वय समिति–२०८० गठन गर्ने निर्णय गरेको छ । माघ ११ हुने राष्ट्रिय सभाका १९ सिटको निर्वाचनका लागि सत्ता गठबन्धनका चार दलले गठबन्धन गरेका छन् । जसमा कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिट पाएका छन् ।
प्रधानमन्त्री प्रचण्डले युगान्डा भ्रमण गर्ने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युगान्डा भ्रमण गर्ने भएका छन् । हिजो बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार आज सिंहदरवारमा बताउँदै प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यसबारेमा जानकारी गराएकी हुन् ।
प्रवक्ता शर्माका अनुसार प्रधानमन्त्री ‘प्रचण्ड’ले युगान्डाको राजधानी कम्पालामा माघ ५ र ६ गते आयोजना हुने असंलग्न आन्दोलनका विजयी राष्ट्रहरूको १९ औँ सम्मेलनमा भाग लिनु हुनेछ ।
जबरजस्ती करणी मुद्दाका प्रतिवादी किरण राई पक्राउ
जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी किरण राई पक्राउ परेका छन् । खोटाङ हलेसी तुवाचुङ नगरपालिका–७ ठेगाना भएका १९ वर्षीय राई रेड नोटिस जारी भएको पाँच दिन भित्रै पक्राउ परेका हुन् । एनसिबी दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनका लागि आज नेपाल फिर्ता ल्याइएको छ ।
राईविरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा जबरजस्ती करणी मुद्दा दर्ता भएपछि अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको खुल्न आएको थियो । अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्न नेशनल सेन्ट्रल व्यूरो (एनसिबी) काठमाडौँको अनुरोधमा इन्टरपोल सचिवालयबाट यही पुस २० गते उनीविरुद्ध रेड नोटिस जारी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
बम्जनले ठूलो मात्रामा राखेका थिए विभिन्न १७ देशका मुद्रा
प्रहरीले पक्राउ गरेका विवादित तपस्वी रामबहादुर बम्जनलाई सार्वजनिक गरेको छ। काठमाडौंको बूढानीलकण्ठस्थित आफ्नै घरबाट मंगलबार साँझ ७ पक्राउ परेका उनलाई प्रहरीले बुधबार सार्वजनिक गरेको हो। प्रहरीको ‘अप्रेशन ब्लु’ सुरु गरी उनलाई पक्राउ गर्न सफल भएको थियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का एसएसपी दिनेश आचार्यका अनुसार उनको साथबाट विभिन्न १७ देशका मुद्रासमेत बरामद गरिएको छ।
जसको नेपाली करिब ३० लाख ९२ हजार रुपैयाँ हुन्छ। त्यस्तै, उनको साथबाट करिब ३ करोड ३ लाख ५५ हजार नेपाली रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। कहिले जंगल त कहिले भारतमा लुकेर प्रहरीलाई छल्न सफल बम्जन अन्ततः कानुनी फन्दामा परेका हुन्। पक्राउ गर्न पुगेका प्रहरीलाई छल्न उनले दुई तलामाथिबाट हाम्फालेर भाग्ने प्रयास गरेका थिए। उनीमाथि बलात्कार र व्यक्ति बेपत्ता पारेको आरोप छ। ५ जनाले जाहेरी दिएका छन्।
यस्तै, आचार्यका अनुसार बम्जनले आफ्ना चार अनुयायीहरूलाई बेपत्ता पारेको पनि बताए। उनका अनुसार बेपत्ता हुनेमा नुवाकोटकी चिनिमाया तामाङ, मकवानपुरका सञ्चलाल वाइवा, मकवानपुरकै फुलमाया रुम्बा, बाराका सुरेश कुमार आलेका रहेका छन्। बरामद अन्य सामानमा मोटरसाइकलका बिलबुक तीन थान, टोयटा हाइलक्स गाडीको चाबी १ थान, पेनड्राइभ २० थान, भ्वाइस रेकर्डर १ थान, मेमोरी कार्ड २ थान, ल्यापटप २ थान, मोबाइल १४ थान र आइप्याड र ट्याब ५ थान छन्। बम्जनमाथि बलात्कार, हत्या तथा व्यक्ति बेपत्ता पारेको आरोप छ। बम्जनलाई आजै सर्लाही पठाउने तयारी ब्युरोको छ। बम्जनलाई पक्रन ब्युरोका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीको नेतृत्वमा प्रहरी टोली पुगेको थियो। टोली पुग्दा उनी भाग्न खोजेका थिए।बरामद अन्यमा गाडी तथा मोटरसाइकल रहेका छन्। बम्जन चढ्ने गरेको प्रदेश–३–०१ –०२४ च ६७२९ नम्बरको तुलाराम तामाङको नाममा रहेको सेतो टोयटा फर्चुनर गाडी बरामद भएको छ।
यस्तै, सेतो रङको अर्को ल्याण्डक्रुजर जेडएक्स गाडी बरामद भएको छ। उक्त गाडी ललितपुर–२२ बुङमती बस्ने बौद्ध श्रवन धर्म संघ ललितपुरका अध्यक्ष पनित महर्जनको नाममा रहेको खुलेको छ। उक्त गाडी धुम्बाराहीस्थित युनाइटेड ट्रेडर्स सिन्डीकेट प्रालि शोरूममा पाँच करोडमा बुक भएकोमा ३ करोड नगदै भुक्तानी भई खरिदको क्रममा रहेको देखिएको छ। उनको घरबाट क्रस फायर ३९० सिसीको केटिएम डुक, यामहाको स्कुटरसहित चार वटा मोटरसाइकल बरामद भएको ब्युरोले जनाएको छ।
रौतहटका तीन पालिकामा धर्ना र तालाबन्दी
रौतहटका तीन स्थानीय तहमा जनप्रतिनिधि तथा कर्मचारीले विभिन्न माग राख्दै आन्दोलन गरेपछि सेवाग्राही मारमा परेका छन् । गरुडा, कटहरिया तथा फतुवा विजयपुर नगरपालिकामा जनप्रतिनिधि तथा कर्मचारीले दैनिक सेवामा अवरोध गरेपछि सेवाग्राही मारमा परेका हुन् । कटहरिया नगरपालिकामा उपप्रमुख रितादेवी यादवको नेतृत्वमा गएको जनप्रतिनिधिको टोलीले कर्मचारीहरुको कार्यकक्षमा तालाबन्दी गरेका छन् । बिभिन्न ८ बुँदाको माग राख्दै सोमबारदेखि वडा नम्बर १ का अध्यक्ष भूपेन्द्र कुशवाहा, वडा नम्बर ४ का अध्यक्ष चन्दन कुशवाहा, ७ का अध्यक्ष सहिद मियाँ, कार्यपालिका सदस्य जामुन ठाकुरलगायतको टोलीले तालाबन्दी गरेको हो ।
कर्मचारीहरुको छुटा–छुटै कोठामा तालाबन्दी गरेका कारण कार्यालयबाट सेवा प्रवाह हुन सकेको छैन् । नगरक्षेत्र अन्तरर्गत घरायसी प्रयोजनमा खर्च भएको विद्युत महसुल बापत प्राधिकरणको बक्यौता रकम सुनिश्चित गर्नुपर्ने, नगरपालिका मातहत तथा कार्यालयमा विगतदेखि खटिदै आएका कर्मचारी, डोर, करार, सफाईकर्मी सबैको बाँकी तलब भुक्तानी गर्नुपर्ने माग अघि सारेका छन् । त्यसैगरी कर्मचारी राख्ने नराख्नेबारे छलफल गर्नुपर्ने, कुनै पनि शीर्षकमा खर्च गर्नु अघि खर्चको प्रस्तावमाथि नगर कार्यपालिका बोर्ड बैठकबाट सुनिश्चित गर्नुपर्ने माग पनि अघि सारेका छन् ।
गएको पुस १८ गते बसेको कार्यपालिका बोर्डको बैठकमा उक्त बिषयबारे जानकारी माग्दा अजय प्रकाश जैसवालले २३ गते हुने कार्यपालिका बोर्डको बैठकमा पेस गर्ने प्रतिबद्धता जनाएको भएपनि त्यसो नगरेपछि बाध्य भएर तालाबन्दी गरिएको नगर उपप्रमुख यादवको भनाई छ । गरुडा नगरपालिकामा पनि उपप्रमुख पुनम चौधरीको नेतृत्वमा कार्यालयमा तालाबन्दी तथा धर्नाको कार्यक्रम हुँदा सेवाग्राही मर्कामा परेका छन् । पुस २० गतेदेखि कार्यपालिकाको मुख्य गेटमा ६ बुँदे माग राखेर धर्नामा बसेपछि कार्यालयको काम प्रभावित भएको हो ।
गरुडा नगर कार्यपालिकाको कार्यालयमा बुधबार छैठौं दिन धर्ना जारी छ । कार्यपालिकाको नियमित बैठक गर्न, नगर सभाका निर्णयहरु कार्यपालिका सदस्यहरु माझ सार्वजनिक गर्न लगायतका मागहरु राखेर जनप्रतिनिधि नै आन्दोलित भएका हुन् ।
लामो समयदेखि तलव सुविधा नपाएको भन्दै फतुवा विजयपुर नगरपालिकामा कार्यरत शिक्षक–कर्मचारी पनि धर्ना जारी राखेका छन् । पालिकाका कर्मचारी तथा जनप्रतिनिधिबिच आपसी विवादका कारण गत साउनदेखि तलब पाउन नसकेपछि शिक्षक–कर्मचारी धर्नामा बसेका हुन् । जनप्रतिनिधिबिच आपसी विवादका कारण फतुवा बिजयपुरमा नगरसभा समेत हुन नसकेको हो । नगरपालिकाको कार्यवाहक मेयर अम्बेया खातुनले नगरसभा गर्नका लागि पटक पटक वैठक आह्वान गरेपनि विवादका कारण नभएको जनाए ।
भारतसँग भएको सम्झौता उपलब्ध गराउन कानुन समितिको निर्देशन
प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिले नेपाल र भारतबीचको सम्झौता उपलब्ध गराउन निर्देशन दिएको छ । बुधबार बसेको समितिको बैठकले हालै सम्पन्न भारतीय विदेशमन्त्री जयशंकरको नेपाल भ्रमणको क्रममा नेपाल र भारतबीच भएका सम्झौता ७ दिनभित्र समितिलाई उपलब्ध गराउन निर्देशन दिएको हो ।
समितिले बुधबार जयशंकरको भ्रमणका बेला भएका सम्झौता बारेमा जानकारी लिन प्रधानमन्त्रीलाई बोलाएको थियो । सो बैठकमा प्रधानमन्त्रीले भारतसँग भएका सम्झौताबारे जानकारी गराएका थिए । समितिको बैठकमा भारतसँग भएका सम्झौताको विवरण समितिलाई जानकारी गराउनुपर्ने माग सांसदहरुले गरेका थिए ।
राष्ट्रिय सभाको विषयलाई लिएर केपी ओलीप्रति माधव नेपालको आक्रोस
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको बौदिकतामाथि प्रश्न उठाएका छन् । ओलीसँगको इगो हट कै कारण अर्को पाटी खोलेका माधवकुमार नेपालले ओलीको बोलीकै टुङगो नभएकाले नै तत्काल कम्युनिस्ट एकताको चाहाना संभव नभएको बताएका हुन् । विगतदेखि नै ओलीसँग सम्बन्ध विगारेका एकिकृत समाजवादी पाटीका अध्यक्ष माधव कुमार नेपालले बुधबार काठमाडौँमा पार्टीको विद्यार्थी विशेष जिल्ला कमिटीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीको बुद्धि विग्रीएको टिप्पणी गरेका हुन् । अध्यक्ष नेपालले राष्ट्रियसभा चुनावका बेला समेत ओलीले प्रधानमन्त्री प्रचण्डसँग एकीकृत समाजवादीलाई सिट नदिनु भनेको भन्दै दुःख व्यक्त गरे ।
राष्ट्रिय सभा निर्वाचनको विषयमा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई दिएको अभिव्यक्ती तितो भएको भन्दै ओलीलाई नेपालले गहिलो व्य«ाङ्ग प्रहार गरेका छन् । यस्तै अध्यक्ष नेपालले कम्युनिष्ट एकताका लागि एकअर्काप्रतिको धारणा सकरात्मक हुन जरुरी रहेको समेत उल्लखे गरे ।
बालेनलाई अर्को धक्का, सर्वोच्चद्वारा विद्यालय व्यवस्थापन समितिसम्बन्धि निर्णय बदर
सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाको वडाध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउने निर्णय बदर गरिदिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, सुष्मालता माथेमाको संवैधानिक इजलासले वडाध्यक्षलाई विद्यालयको अध्यक्ष बनाउन नपाइने भन्ने रिट निवेदनमा अन्तरिम आदेश जारी गरेको हो ।
काठमाडौं महानगरपालिकाले शिक्षा ऐन विपरीत गएर सम्बन्धित वडाको वडाध्यक्ष नै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुने गरी निर्णय गरेको थियो । महानगरको निर्णय विरुद्ध गत कात्तिक २३ मा छुट्टाछुट्टै दुई वटा रिट निवेदन दर्ता भएका थिए । महानगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने सबै सामुदायिक विद्यालयमा भइरहेका व्यवस्थापन समिति विघटन गर्न मिल्ने गरी निर्णय गराएको थियो ।
गत असार ३० मा सम्पन्न काठमाडौं महानगरपालिकाको नगर सभाले विद्यालय व्यवस्थापन समिति भङ्ग गर्ने निर्णय गरेको थियो । महानगरपालिकाले पुराना समितिलाई भङ्ग गर्दै वडाध्यक्षलाई अध्यक्षको जिम्मेवारी तोक्ने निर्णय समेत गरेको थियो । काठमाडौं महानगरपालिका भित्र ८९ वटा सामुदायिक विद्यालय रहेका छन् । यस अघि विद्यालय व्यवस्थापन समितिमा सम्बन्धित अभिभावकबाट नै छनौट हुने गरी अध्यक्ष हुन पाउने व्यवस्था रहेको थियो ।




