काठमाडौँ ।बालगायक अशोक दर्जीको जीवनयात्रा र सङ्घर्षको कथा अब चलचित्रमार्फत दर्शकले हेर्न पाउने भएका छन्। ‘मन बिनाको धन’ नामक चलचित्र गायक दर्जीको वास्तविक जीवनका घटनाक्रम र सामाजिक सन्देशलाई समेट्दै निर्माण गरिएको हो।
सङ्गीतकार तथा गायक टङ्क बुढाथोकीको निर्देशनमा तयार भएको चलचित्रले वर्तमान समाजमा मन र धनबीचको टकरावलाई चित्रण गर्दै दर्जीको ‘जिरोबाट हिरो’ बन्ने यात्रा प्रस्तुत गरेको छ। निर्देशक बुढाथोकीले चलचित्र दर्जीको पूर्ण जीवनी नभए पनि उनको बाल्यकालका वास्तविक घटनाहरू र जीवनका संघर्षका पाटाहरूलाई नाटकीय रूप दिइएको बताएका छन्।
“सडकमा गीत गाउँदै हिँड्ने एक बालकको जीवन कसरी बदलिन्छ भन्ने कथा यस चलचित्रको केन्द्रमा छ,” निर्देशक बुढाथोकीले बताए। “यो मनोरञ्जनका साथसाथै प्रेरणादायी चलचित्र पनि हो।”
हाल कक्षा नौमा अध्ययनरत दर्जीका लागि यो चलचित्र पहिलो र सम्भवतः अन्तिम फिल्म हो। चलचित्रमा अशोक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुङ्गाना, भोला सापकोटा, बुद्धी तामाङ, पार्वती अधिकारी, उत्सव सापकोटा, रविन्द्र झा लगायतका कलाकारले अभिनय गरेका छन्।
गायक दर्जीले आफूलाई सडकबाट उद्दार गरी गायनको अवसर दिलाउन गायक बुढाथोकीले महत्त्वपूर्ण भूमिका खेलेको बताए। “मलाई सडकबाट निकालेर गायक बनाइदिनु गायक बुढाथोकीकै कारण सम्भव भयो,” उनले भने। “यो चलचित्र मेरो सङ्घर्षको झल्को हो, जसले अन्य सडक बालबालिकालाई पनि सपना देख्ने हिम्मत दिन सक्छ।”
चलचित्रको कथा तथा निर्देशन टङ्क बुढाथोकीले गरेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका छन्। वितरक करण श्रेष्ठका अनुसार ‘मन बिनाको धन’ यही कात्तिक २१ गतेदेखि नेपालसहित विदेशका केही देशमा पनि प्रदर्शनमा आउनेछ।



