काठमाडौँ। नेपाली हास्य क्षेत्रका वरिष्ठ कलाकार हरिवंश आचार्यले निर्वाह गर्नुभएको लोकप्रिय पात्र ‘हरिबहादुर’ अब चलचित्रमा देखिने भएको छ । टेलिशृङ्खला र रंगमञ्चमार्फत प्रस्तुत भएको यो पात्रले समाजका विकृति र विसङ्गतिमाथि व्यङ्ग्य प्रहार गर्दै दर्शकमाझ लोकप्रियता कमाएको थियो । लामो समयपछि ‘हरिबहादुर’ अब चलचित्र ‘हरिबहादुरको जुत्ता’ मा प्रस्तुत हुने भएको हो ।
गत वैशाखमा प्रदर्शन भएको चलचित्र ‘भूठान’ मा गम्भीर भूमिकामा देखिएका आचार्यले यस चलचित्रमार्फत पुनः हास्य भूमिकामा देखिने बताएका छन् । बुधबार सार्वजनिक गरिएको चलचित्रको टिजरमा आचार्यले समसामयिक विषय समेटिएको रमाइलो कथा दर्शकले पाउने बताएका छन् ।
आचार्यले नै पटकथा तथा संवाद लेखेको चलचित्र गायक सरोज ओलीको पहलमा निर्माण भएको हो । चलचित्र आउँदो असोज १३ गतेदेखि प्रदर्शनमा आउने जनाइएको छ ।
दीपेन्द्रकुमार खनालको निर्देशनमा तयार भएको चलचित्रमा आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, सीता न्यौपाने, कमलमणि नेपाललगायत कलाकारले अभिनय गरेका छन् । चलचित्रमा वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको सङ्गीत, कृष्णबहादुर थापाको छायाङ्कन र नकुल खड्काको सम्पादन रहेको छ ।




