काठमाडौं । नेपाली म्युजिक भिडियोमा तुलसा कटुवाल परिचय गराइरहनुपर्ने नाम होइन । संखुवासभा चैनपुरकी तुलसाले पाँच दर्जनभन्दा बढी म्युजिक भिडियोमा आफ्नो अभिनय क्षमता देखाइसकेकी छन् । म्युजिक भिडियो मात्रै होइन, उनले दमन रुपाखेतीले निर्देशन गरेको हास्य टेलिसिरियल ‘हाक्काहाक्की पक्कापक्की’ मा पनि अभिनय गरिसकेकी छन् ।

कलाकार भएपछि जुनसुकै विधामा पनि आफ्नो क्षमता प्रस्तुत गर्नुपर्छ भन्ने सोचाइ राख्ने तुलसाले लोक, आधुनिक र पपगीतका म्युजिक भिडियोमा काम गरिसकेकी छिन् ।

म्युजिक भिडियोबाट मोडलिङ क्षेत्रमा प्रवेश गरेकी तुलसा तीन वर्षको ग्यापपछि पुनः अभिनय यात्रामा फर्केकी छन् । उनले गायिका देशु सुहाङको तीज गीतबाट कलाकारिता क्षेत्रमा प्रवेश गरेकी थिइन् । पछिल्लो समय चेतन खतिवडाको शब्द, आनन्द कार्कीको आवाज रहेको आधुनिक गीत ‘जिन्दगी अझै जिउने आस लाग्ने गर्छ, जबजब तिमी मलाई खास लाग्ने गर्छ…’ बोलको गीतबाट पुनः अभिनय कर्ममा फर्किएकी हुने । गीतमा संगीत भने शक्ति बल्लबले भरेका छन् ।

गीतको म्युजिक भिडियो पुस १७ गते काठमाडौंका विभिन्न स्थानमा छायांकन गरिएको छ । गीतको म्युजिक भिडियो केही समयपछि रिलिज गर्ने तयारीमा रहेको निर्देशक देवराज आचार्यले जानकारी दिए । हाल म्युजिक भिडियोको सम्पादनको काम भइरहेको छ । गीतको छायांकन उद्धव ओलीले गरेका हुन् । नयाँ गीतको भिडियो देव मिडिया नेपालको अफिसियल युबट्युब च्यानलबाट सार्वजनिक गरिने भएको छ ।





