काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए)–नेपाल सञ्चालक समितिले विद्युत् प्रसारण लाइनको १८ किलोमिटर लामो सीमापार खण्डको काम अगाडि बढाउने निर्णय गरेको हो । सञ्चालक समितिको फागुन २१ गते बसेको ४०औँ बैठकले विद्युत् प्रसारण आयोजनाअन्तर्गत निर्माण गर्न लागिएको ३१५ किलोमिटर लामो प्रसारणलाइन सञ्जालबाट १८ किलोमिटर लामो बुटवल–गोरखपुर खण्डलाई छुट्याएर प्राथमिकताका अगाडी बढाउने निर्णय गरेको हो । एमसीए नेपालको अध्यक्ष अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्कर रहेका छन् ।
सञ्चालक समितिलेले सीमापार खण्डसम्बन्धी कामलाई तीव्रता प्रदान गर्दा नेपाल र भारतबीचको सीमापार ऊर्जा व्यापार सम्झौताअन्तर्गतको दायित्व निर्वाह गर्न सहयोग पुग्ने विश्वास लिएको छ । सञ्चालक समितिको बैठकपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सह–सचिव तथा प्रवक्ता नवीनराज सिंहले नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणका लागि यस खण्डको गम्भीरतापूर्ण महत्त्वलाई दृष्टिगत गर्दै एमसीए–नेपाल सञ्चालक समितिले यस्तो विश्वास लिएको बताए । उनका अनुसार खण्डलाई बृहत् प्रसारण लाइन सञ्जालबाट छुट्याउँदा खरिद प्रक्रिया छिटो सम्पन्न गर्न सकिने र भारतमा निर्माणाधीन प्रसारण लाइनसँग जोड्नका लागि यसको निर्माण २०८३ जेठभित्रै सम्पन्न हुने सुनिश्चित गर्नेछ।
नयाँ बुटवल–गोरखपुर सीमापार प्रसारण लाइन निर्माण कार्यको व्यवस्थापन गर्ने वित्तीय तथा स्वामित्व संरचनासम्बन्धमा नेपाल सरकार तथा भारत सरकारबीच २०७६ असोजमा सहमति भएको थियो। बाँकी २९७ किलोमिटर प्रसारण लाइनका सन्दर्भमा निर्धारित समयावधिभित्रै निर्माण सम्पन्न गर्न डिजाइन–बिल्ड ढाँचामा निर्माण कम्पनीहरूको सेवा खरिदका लागि एमसीए–नेपालले पुनः काम अगाडि बढाइरहेको छ। यसअघि बोलपत्र माग गर्दा निकै महँगो दर प्रस्ताव भएकाले रद्द गरेर पुनः प्रक्रिया अघि बढाउन लागिएको हो। अमेरिकी सहायतासम्बन्धी कार्यक्रम एमसीसीअन्तर्गत यस्ता योजनाहरु नेपाले पाँच वर्षको अवधिभित्र सक्नुपर्ने हुन्छ ।




