काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयको निमित्त उपकुलपतिमा डा.शैलेषमणि नियुक्त भएका छन् ।
चिकित्सा शास्त्र संकायका डीन डा.शैलेषमणि पोखरेललाई सरकारले शुक्रबार नियुक्त गरेको हो । पोखरेललाई रिक्त उपकुलपति पद पदपूर्ति नभएसम्म दैनिक कार्य सञ्चालन गर्नका लागि उपकुलपति नियुक्ति गरिएको हो । ऐन अनुसार विश्वविद्यालयको कुनै पद रिक्त भएमा सो पदपूर्ति नभएसम्म बढीमा तीन महिनाको लागि उपकुलपतिको जिम्मेवारी सहकुलपतिको परामर्शमा कुलपतिले तोक्ने व्यवस्था छ ।
सोही व्यवस्था अनुसार जिम्मेवारी पाएको बताउँदै पोखरेलले पूर्वाञ्चल विश्वविद्यालय ऐन अनुसार जिम्मेवारी दिइएको उल्लेख गरे । ८ फागुनमा उपकुलपति प्रा.डा.यादव कोइरालाको कार्यकाल सकिएपछि रिक्त रहेको थियो ।
पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनोट प्रकृयामा रहेको छ । तत्कालीन शिक्षामन्त्री अशोकुमार राईको संयोजकत्वमा बनेको उपकुलपति छनोट तथा सिफारिस समितिले आवेदकहरुको सोचपत्र र कार्ययोजनाको मूल्याङ्कनको काम सकिएर प्रस्तुतीकरण तथा अन्तर्वार्ता लिने तयारी भइरहेको थियो । सत्ता गठबन्धनमा आएको फेर बदलका कारण अहिले उक्त प्रक्रिया रोकिएको छ । शिक्षा सचिव सुरेश अधिकारीका अनुसार सोही प्रक्रियाले मान्यता पाउनेछ ।




