काठमाडौं । नेपाली कांग्रेसले पार्टीको शिक्षा नीति सार्वजनिक गरेको छ ।
कांग्रेसको शिक्षा विभागले तयार गरेको नीति शनिबार सभापति शेरबहादुर देउवा र महामन्त्री पुर्णबहादुर खड्कालाई बुझाइएको हो । विभाग प्रमुख हरिप्रसाद नेपाल नेतृत्वको समितिले तयार पारेको प्रतिवेदनमा एसइइ खारेज गरेर ४ तहको शिक्षा प्रणालीमा जान कांग्रेसले प्रस्ताव गरेको छ ।
विश्वविद्यालयको कुलपति विज्ञ हुनुपर्ने समेत कांग्रेसले अघि सारेको शिक्षा नीतिमा प्रस्ताव गरिएको छ । अहिलेसम्मका विश्वविद्यालयहरुमा कुलपति प्रधानमन्त्री रहने व्यवस्था हटाउन कांग्रेसले प्रस्ताव गरेको शिक्षा नीतिमा उल्लेख गरिएको छ ।
त्यस्तै शिक्षक तथा विद्यार्थीलाई दलीय राजनीतिबाट अलग गर्नुपर्ने र शिक्षक परिषद्, प्राध्यापक परिषद्, र विद्यार्थी कल्याणकारी परिषद्को स्थापना गर्ने नीति लिनुपर्ने प्रस्ताव कांग्रेसले अघि सारेको छ ।
दुई वर्षभित्र हरेक स्थानीय तहअन्तर्गत गाउँपालिकाले कम्तीमा एउटा, नगरपालिकाले कम्तीमा दुईवटा, उपमहानगरपालिकाले कम्तीमा तीन र महानगरपालिकाले कम्तीमा पाँचवटा माध्यमिक तहको आवासीय विद्यालय सञ्चालन गर्ने प्रस्ताव कांग्रेसको शिक्षा नीतिमा उल्लेख गरिएको छ ।
कांग्रेसको शिक्षा विभागले तयार गरेको राष्ट्रिय शिक्षा नीति आगामी महाधिवेशनमा पेश गरेर पारित गरेपछि कार्यान्वयन हुने कांग्रेसले जनाएको छ ।




