देश

वैकल्पिक आवासबिना सुकुमवासीलाई हटाउनु अन्यायपूर्ण : कुलमान घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले उचित वैकल्पिक आवासको व्यवस्था नगरी भक्तपुरको बोडेस्थित आश्रयस्थलबाट सुकुमवासी परिवारलाई हटाउने निर्णय स्थगित गर्न सरकारसँग आग्रह गरेका छन् ।

काठमाडौं उपत्यकाका नदी किनारबाट विस्थापित गरिएका र हाल मध्यपुर थिमी–बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा आश्रय लिइरहेका परिवारलाई उक्त स्थान खाली गर्न निर्देशन दिइएकोप्रति घिसिङले आपत्ति जनाएका हुन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले जाडोको समयमा सुरक्षित आवासको सुनिश्चितता नगरी सुकुमवासीलाई पुनः विस्थापित गर्नु उचित नहुने बताएका छन् ।

विशेषगरी आश्रयस्थलमा रहेका बालबालिका, ज्येष्ठ नागरिक, महिला तथा अशक्त व्यक्तिहरूको अवस्थालाई ध्यानमा राखेर निर्णय लिनुपर्ने उनको भनाइ छ ।

भूमिहीन तथा सुकुमवासी समस्याको समाधान उनीहरूलाई एक ठाउँबाट अर्को ठाउँमा विस्थापित गर्नु मात्र नभएको उल्लेख गर्दै घिसिङले उचित पहिचान, संवाद र सम्मानजनक पुनर्स्थापनामा जोड दिएका छन् ।

उनले वैकल्पिक आवासको व्यवस्था नभएसम्म आश्रयस्थल खाली गराउने निर्णय रोक्न, प्रभावित परिवारका आधारभूत आवश्यकता सुनिश्चित गर्न र दीर्घकालीन तथा न्यायपूर्ण समाधान खोज्न सरकारलाई आग्रह गरेका छन् । नागरिकलाई सुरक्षित आवास र सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्नु राज्यको दायित्व भएको घिसिङले बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *