देश

भारतको राजकीय भ्रमण सकेर प्रधानमन्त्री शाह आज स्वदेश फर्कंदै

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह भारतको दुईदिने राजकीय भ्रमण पूरा गरी आज साँझ स्वदेश फर्कने भएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री शाहले भ्रमणको दोस्रो दिन आज भारतीय समकक्षी मोदीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए ।

स्थानीय समयअनुसार बिहान ११ बजे भएको भेटवार्तामा नेपाल–भारतबीचको आपसी हित र द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको थियो । उच्चस्तरीय वार्तापछि दुई देशबीच विभिन्न सहयोग तथा परियोजनासम्बन्धी सम्झौता हुनुका साथै केही आयोजनाको शिलान्यास गरिएको थियो ।

त्यसपछि दुवै देशका प्रधानमन्त्रीले नयाँदिल्लीस्थित हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गरेका थिए ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले आज बिहान नयाँदिल्लीस्थित राजघाट पुगेर भारतका राष्ट्रपिता महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

उनले आजै भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि शिष्टाचार भेटवार्ता गरेका थिए । त्यस्तै, आइतबार साँझ भारतका विदेशमन्त्री डा. एस जयशङ्करले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गरेका थिए । उक्त भेटमा दुई देशबीचको सम्बन्ध र पारस्परिक हितका विषयमा छलफल भएको थियो ।

नेपाली प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री शाह आज साँझ ६ः३५ बजे नेपाल एयरलाइन्सको उडानमार्फत काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *